इटहरीः देशको बेथिति तथा एनसेल प्रकरण विरुद्ध इटहरीमा ‘नेपालका लागि नेपाली अभियान’ ले नागरिक खबरदारी सभा आयोजना गरेको छ ।

सभालाई भ्रष्टाचार विरुद्धका अभियन्ता वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले आज इटहरीमा सम्बोधन गर्ने भएका हुन् ।

अभियान पूर्वको इटहरीबाट थालनी गरी देशभर बृहत सभा आयोजना गर्ने पूर्वाञ्चल कार्यक्रम संयोजक सागर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । भ्रष्टाचार विरुद्धको अभियानमा अब नेपाली जनता नलागे देश नै सकिने स्थिति चाँडै आउने भन्दै खड्काले चिन्ता व्यक्त गरे ।

पछिल्लो समय नेताले नै देशमा लुटतन्त्र मच्चाएको बताउँदै त्यसका विरुद्धमा जनता नै सडकमा आउने संयोजक खड्काले बताए । टोलीले भोलि शनिबार झापाको बिर्तामोड र मोरङको उर्लाबारीमा यस्तै सभाको आयोजना गर्ने जनाएको छ ।