काँकरभिट्टाः भारतको भौगोलिक अवस्था, रहनसहन, बोलीचाली, अनुहार, भेषभुषा नेपालीसँग मिलेका कारण पूर्वी काँकरभिट्टा नाका मानव बेचबिखन तथा ओसारपसारका लागि गिरोहले रोजेको हुन सक्ने १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताए ।

बिहीबार मानव बेचबिखन तथा ओसारपसारविरुद्घको १३ औँ राष्ट्रिय दिवसका अवसरमा काँकरभिट्टामा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वी नाका अन्तर्राष्ट्रिय सिमाना भएका कारण निकै संवेदनशील भएकाले यस्ता नाकाबाट मानव बेचबिखन तथा ओसारपसारका घटना अत्यधिक हुने भएकाले काँकरभिट्टामा कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
मानव बेचबिखन तथा ओसारपसारको बदलिँदो स्वरुप, दलालले अपनाउने नयाँ प्रविधि र तरिका एवम् विश्वमा लागूऔषध र हतियारपछिको तेस्रो ठूलो अपराधका रूपमा देखा परेको मानवताविरुद्घको यो सङ्गठित अपराध रोक्न सबै जना एक हुनुपर्नेमा उनको जोड थियो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो अपराध कुनै १ जनाको प्रयासले मात्र नियन्त्रण नहुने भएकाले सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । मानव बेचबिखनको बदलिँदो रुवरूपसँगै वैदेशिक रोजगारको नाममा आन्तरिक तथा बाह्य रूपमा बेचबिखन हुने गरेको पाइन्छ । नयाँ स्वरूप, बहाना, आश्वासन, प्रलोभनमा परेर झुटो विवाहको बहानामा समेत चेलीबेटी बेचबिखन हुने गरेकाले सबै जना त्यसतर्फ चनाखो हुनुपर्ने उनले बताइन् ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बेचबिखनका प्रमुख कारण अशिक्षा र जनचेतनाको कमी, बेरोजगारी, दलालको आर्थिक प्रलोभन, असुरक्षा र हिंसाको स्थिति, बढ्दो शहरीकरण र बसाइँसराइँ, महिला एवम् बालबालिका माथि हुने घरेलु हिंसाको प्रमुख कारण भएको बताए ।

छोरा–छोरीबीचको विभेद, गरीबी, आर्थिक विपन्नता र चाँडो धनी बन्ने वा सुखी जीवन बिताउने महत्वकाङ्क्षा, पश्चिमी खुला छाडा संस्कृतिको प्रभाव र अरुको देखासेखीका कारण कामको खोजीमा महिला विदेशिने गरको उनले अनुभव सुनाए ।

कार्यक्रममा झापा जिल्लाका न्यायाधिवक्ता केशव पन्त, मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, ट्राभल सङ्घ झापाका अध्यक्ष निरबहादुर कार्कीलगायतले आफ्नो धारणा राखेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा शुरु भएको ¥याली काँकरभिट्टा बजारको मुख्य भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो । ¥यालीमा चेलीबेटी बेच्ने दलाललाई सामाजिक बहिष्कार गराँै, मानव बेचबिखन हुनबाट आफू पनि बचौँ अरुलाई पनि बचाऔंजस्ता नारा लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

police jhapa  (3)