इटहरीः मानव बेचविखन विरुद्धको १३ औँ राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताले इटहरीमा सञ्चालित केही होटलहरू अझै ‘सुध्रिन’ नसकेको आरोप लगाएका छन् ।

‘यौन व्यवसाय गरेरै अझै पैसा कमाउँछु’ भन्ने नियत भएका होटल व्यवसायीका कारण यस्तो स्थिति आएको उनीहरूले बताए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इटहरी प्रहरी र श्रमिक महिला साझा मञ्च नेपालले आयोजना गरेको अन्तरक्रियामा यस्तो आरोप लगाइएको हो ।

अन्तरक्रियामा सहभागी विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले रोजगारको लोभ देखाएर होटल व्यवसायीहरूले किशोरी तथा युवतीलाई यौन व्यवसाय गर्न बाध्य समेत बनाउने गरेको बताए ।

यौन व्यवसाय पनि मानव बेचबिखन जत्तिकै जघन्य अपराध भएको बताउँदै प्रशासनले इटहरीका होटल तथा लजहरूमा नियमित छापा हान्नुपर्ने धारणा राखेका थिए ।

सरोकारवाला निकायको आरोपको खण्डन गर्दै होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले विगतकै नजरबाट यहाँका व्यवसायीलाई नहेर्न आग्रह गरे । इटहरीका प्रायः सबै होटलहरूमा सीसी क्यामेरा जडान गरी व्यवस्थित बनिसकेका कारण अवैध गतिविधिहरू नहुने उनले बताए । पराजुलीले केही होटलमा हुने अवैध यौन धन्दाका कारण शहरको बदनाम भएको स्वीकार्दै पहिचान गरिएका त्यस्ता होटलहरूमा प्रहरीले नियमित निगरानी बढाउनुपर्ने धारणा राखे ।

पछिल्लो समय मानव बेचबिखनको एउटा कारण होटलमा हुने गरेको यौन व्यवसाय पनि भएको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले अब पनि होटल व्यवसायमा सुधार नआए होटल व्यवसायीलाई नै मानव बेचबिखनको मुद्दा चलाइने बताए ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले सुनसरीमा पछिल्लो समय मानव बेचबिखनको अवस्था सामान्य रहेको बताए । अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा उजुरी पनि न्यून रहेको उनले बताए ।

होटल व्यवसायीहरूसँग भएको अन्तरक्रियामा उनले अरूलाई दोष लगाउनुभन्दा अगाडि आफ्नो होटलभित्र हुने प्रत्येक गतिविधि आफैँले नियाल्नुपर्ने बताए । प्रहरीकहाँ उजुरी आइसकेपछि चुप लागेर बस्न नमिल्ने बताउँदै एसपी पोख्रेलले नेपालको संविधानविपरीत काम गर्ने जो कोही पनि कारबाहीको भागिदार हुने बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका अन्तर्गत सामाजिक शाखाका अधिकृत सुशीला कार्की श्रमिक महिला साझा मञ्च नेपालकी कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक लीला भुजेल, माइती नेपाल सुनसरीकी कार्यक्रम संयोजक सुनिता कार्की, होटल व्यवसायीहरू तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।