ताप्लेजुङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा ताप्लेजुङका समीर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् ।

विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आएका मन्त्री भट्टराईले यस वर्ष फक्ताङलुङ गाउँपालिका–६, का ४ वर्षीय समीर राईलाई नगद २० हजार सहयोग प्रदान गरेका हुन् ।

सहयोग रकम राईका अभिभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौका अध्यक्ष चित्रगुप्त साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौमा आयोजना गरेको एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गर्दैै मन्त्री भट्टराईले आगामी दिनमा समेत समीरको थप पठनपाठन र स्वास्थ्य समस्या आइपरे आवश्यक सहयोग प्रदान गर्ने जनाए ।

समीरका आमाबुबा दृष्टिविहीन छन् । समीर आफू पनि राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समीरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कुलले निःशुल्क रूपमा पढाउँदै आएको बताइएको छ ।