विराटनगरः उच्च अदालतले २ हजार जरिवाना सहित ६ महिना कैदको फैसला सुनाएका विराटनगरका दुई व्याक्तिहरु खुलेआम हिँडिरहेका छन् । विराटनगर ९ घोघापुल चौकका एजाज अहमद परवेज तथा सोही स्थानका आजम परवेजलाइ जिल्ला जिल्ला अदालतको फैसला सदर गरेको १२ दिन बितिसक्दा पनि उनीहरू पक्राउ परेका छैनन् ।

उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश रन्जु शाहर न्यायाधीश मेहश शर्मा पौडेलको संयुक्त इजलासले यही भदौ १० गते जिल्लाको फैसलालाई सदर गरिदिएको छ । उच्च अदालतले गरेको फैसला गत मङ्गलबार प्रमाणीकरण भएको छ ।

biratnagar abhiyukta pradeshportal.com

विराटनगर १२ का सालिम हुसेनका तीन छोरा जाकिर हुसेन, साकिर हुसेन र साजिद हुसेनलाई २०६९ भदौ ३ गते दिउँसो ३ बजे घरभित्र ल्यापटप चलाइरहेको अवस्थामा अभियुक्तहरूले तरबारले आक्रमण गरेर घाइते बनाएका  थिए ।

अहमद परवेज र आजम परवेजलाइ मुलुकी ऐनको कुटपिट महलको ७ नम्बर कसुर अन्तर्गत २ हजार जरिवाना र ६ महिना कैदको फैसला जिल्ला अदालतले फैसला गरेको थियो ।

घटनामा जोडिएका टीका मियाँ, अफरोज खाँ, बिक्की खाँ, परमेश्वर मण्डल र चन्दन मण्डलले भने सफाइ पाइसकेका छन् ।

दुई तहका अदालतले दोषी प्रमाणित गरे पनि अभियुक्त दाजुभाइ खुलेआम हिँड्नुले न्याय क्षेत्रकै अपमान भएको पीडितका बुबा सामिल हुसेनले दुःखेसो गरे । अदालतको फैसलाको प्रतिवेदन सहित मोरङ प्रहरीलाई जानकारी दिँदादिँदै पीडकहरू पक्राउ नपर्नु आश्चर्य भएको हुसेनले बताए ।