उर्लाबारीः मोरङको उर्लाबारी जुवाको अखडा बनिरहेको गुनासो आइरहेको बेला उर्लाबारी प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

उर्लाबारी–५ स्थित होटल सम्राटबाट सोमबार राति साढे १२ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी निरीक्षक सुभाष राईको नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का २१ वर्षीय आकाश थापा, वडा नं. १ का ३८ वर्षीय राजु भनिने सञ्जीव गिरी र ३५ वर्षीय नरेन्द्र लिम्बू रहेका छन् ।

त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ का ३३ वर्षीय विकास राई, ३२ वर्षीय सन्तोष भनिने विशाल राई, ४२ वर्षीय कृष्ण अधिकारी, वडा नं. ३ का ४० वर्षीय दिनेश थापा र ३५ वर्षीय जाइतो चेम्जोङ पक्राउ परेका छन् । वडा नं. ७ का २२ वर्षीय मोहन कटुवाल र ४१ वर्षीय अशोक राई पनि पक्राउ परेका छन् । पक्राउ परेका कटुवाल होटलका कर्मचारी हुन् ।

मध्यरातमा होटलमा होहल्ला र झगडा भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँसहित पाँच बुङ तास फेला पारेको थियो । पक्राउ परेका १० जनालाई नै जुवा ऐनअन्तर्गत मुद्दामा म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए ।

उर्लाबारीमा पछिल्लो समय जुवाडेको चलखेल बढिरहेको भन्दै स्थानीयवासीले चिन्ता प्रकट गरेका छन् । उर्लाबारीमा आफूलाई सामाजिक अगुवा भनेर चिनाउने व्यक्तिले सेटिङ मिलाएर जुवाको खाल सञ्चालन गर्दै आएको स्थानीय बताउँछन् ।