ताप्लेजुङः हिमाली जिल्ला ताप्लेजुङमा समेत डेङ्गुको सङ्क्रमण भेटिएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेङ्गुको सङ्क्रमण भेटिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । रगत परीक्षणका क्रममा शङ्का लागेपछि कीट परीक्षण गर्दा डेङ्गु पोजेटिभ भेटिएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा. सोनिङ लामाले बताए ।

डेङ्गु सङ्क्रमित ती महिलालाई तत्काल जिल्ला बाहिर रेफर गरिएको लामाको भनाइ छ । लामाका अनुसार ती महिला पछिल्लो ३ महिना गाउँबाहिर गएकी थिइनन् । अस्पतालमा आएका १० जना बिरामीको रगत परीक्षण गरिएकोमा अन्यमा डेङ्गुको सङ्क्रमण नभेटिएको बताइएको छ । पछिल्लो पटक मुलुकभर महामारीको रूपमा डेङ्गुको सङ्क्रमण फैलिएपछि र ताप्लेजुङमा समेत शङ्कास्पद बिरामी भेटिएपछि रगत परीक्षण गर्ने कीट मगाइएको थियो ।

चिकित्सकका अनुसार सामान्यत डेङ्गुको सङ्क्रमण गराउने लामखुट्टेले टोकेको हप्ता दिनमै र अधिकतम तीन महिनाभित्र रोगका लक्षण देखा पर्ने गर्छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न अधिकतम उपाय अपनाउन जिल्ला अस्पतालले आग्रहसमेत गरेको छ ।