धरानः चाडबाड नजिकिँदै गर्दा धरानमा चोरीका घटना हुन थालेका छन् । धरानको वडा नम्बर ५ को एक घरमा चोरी गरेको आरोपमा देउरालीका दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ ।

देउरालीकी नरवती राईको घरमा गहना चोरेको आरोपमा प्रहरीले सोही स्थानका भक्तबहादुर विश्वकर्मा र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । रातको करिब १० बजेको समयमा घरधनी राई छिमेकीको घरमा गएको मौका छोपी दराज फुटाएर गहना चोरी गरेको आरोप लागेको छ ।

दराजमा राखेका सुनका जन्तर, तिलहरी, जुनतारा, ब्रासलेट, औँठी, पिँजडा, बेरुवा औँठी गरी कुल ३ तोला ५ आना २ लाल बराबरको गहना उनीहरूले चोरी गरेका थिए । ती गहनाको मूल्य २ लाख ३८ हजार ५ सय ७८ रुपैयाँ बराबरको रहेको जनाइएको छ । त्यसैगरी, ५ हजार ९ सय ५५ रुपैयाँबराबरको चाँदीका ब्रासलेट २ थान, सिक्री १ थान चोरी गरेको प्रहरीले जनाएको छ ।

विश्वकर्माद्वयलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख ढुण्डीराज न्यौपानेले बताए । उनले चाडपर्वमा चोरीका घटना बढ्न सक्ने सम्भावना भएकाले सुरक्षित रहन समेत आग्रह गरेका छन् ।