इटहरीः निजी जमिनमा बनेका घरटहराका कारण इटहरी–१९ का गोपाल राई २० वर्ष अघिदेखि न्यायका लागि अदालत धाइरहेका छन् । आफ्नै जमिनको बाटो छेक्ने गरी निर्माण भएका घरटहरा भत्काउन राईले जिल्ला अदालत र उच्च अदालतमा हालेको मुद्दा जिते पनि राजनीतिक दलको अवरोधका कारण राई अहिले झन् अन्यायमा परेका छन् ।

इटहरी–१९ स्थित पृथ्वी चोकमा पर्ने कित्ता नम्बर १७९२ र १७९३ को १० कठ्ठा १९ धुर जमिनको मुखमा अहिले ६ ओटा घर छन् । घर टहरा भएको आधा भाग ऐलानी र आधा भाग राईको जमिन परेको छ ।

तर जमिन छिर्ने भागमा घरटहरा निर्माण गरिदिएपछि राईले न जमिन बेच्न पाएका छन् न घर बनाउन नै । खेती गर्न समेत ६ घरले अवरोध गरेका छन् ।

जिल्ला अदालत र उच्च अदालतले विभिन्न मितिमा ‘जग्गा खिचोला मेटाई घर भत्काई निकास खुला गरी चलन’ गर्न ३ पटक आदेश दिएको थियो । तर राजनीतिक दलले अदालतकै निर्णयलाई अवरोध गरी उल्टै जग्गाधनी राईविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेका छन् ।

अदालतको आदेश लिएर प्रहरी कार्यालय जाँदा समेत प्रहरीले उल्टै पैसा मागेको र मिल्न दबाब दिएको पीडित राई बताउँछन् ।
‘०६५ साल मंसिर १७ गते उच्च अदालत र ६३ साल फागुन ३ गते जिल्ला अदालतले टहरा भत्काउन फैसला गरेको थियो’, उनले भने, ‘फैसलाको पत्र लिएर जाँदा प्रहरीले पैसा मागे नदिएपछि मिल्न दबाब दिए ।’

तरहराका मणिराम गिरी, टीक वन, दलेन्द्र खड्का, रुद्रबहादुर बस्नेत, तेजबहादुर अधिकारी र १९ नम्बरका वडाध्यक्ष श्रीनारायण चौधरीले घर भत्काउनमा अवरोध गरेको राईको आरोप छ ।

अदालतबाट आएका अमिनहरूलाई समेत सो समूहले गलत सिमाना देखाएर जग्गा नापी गरेको राई बताउँछन् । ‘म दुई दशकदेखि यो लडाइँ लडिरहेको छु, आफ्नो जमिन अवरोध हुँदासमेत न्यायको लागि अदालती प्रक्रिया जाँदा फिल्डमा भने अवरोध नभएको कागज बनाई जग्गा हडप्ने योजना बनेको छ’, उनले भने । अहिले उल्टै ‘जग्गा दलाली’ भन्दै आफूलाई बदनाम गराउन खोजेको राइको भनाइ छ ।

राजनीतिक दल ६ परिवारको पक्षमा लागेर आफ्नो जमिनमा बाटो बनाउन नदिने षड्यन्त्र गरेको राईको दाबी छ ।
नापी गर्दा समेत आफ्नो जमिनभित्र घरटहरा भएको देख्दादेख्दै पनि दलको प्रभावमा नापीका कर्मचारीले गलत रिपोर्ट बनाउने गरेको राई बताउँछन् ।

विवाद लम्बिएपछि जंग्गा बेच्ने सोचमा पुगेका राई अहिले घरटहरा र स्थानीय राजनीतिक दलको उल्झनले दोधारमा छन् । राईका अनुसार केही स्थानीय नेताले १० लाख रकम दिए घरटहराको अवरोध हटाउनेसमेत प्रस्ताव राखेका छन् । ‘म कानुनी रूपमा मुद्दा जितिसकेको मान्छे हँु,’ उनले भने, ‘मैले आफ्नो जमिनमा बाटो बनाउन पनि नपाउनु ?’

यता, नगेन्द्र खड्का भने राईको जमिन आफूहरूले नमिचेको बताउँछन् । तिन पुस्ता आफ्ना परिवारले यसै जमिनमा बिताएको बताउँदै खड्काले आफ्ना बाजेले एकजना व्यक्तिमार्फत् अहिलेको जमिन खरीद गरेको दाबी गरे । ६ ओटा घर ऐलनीमा बनेको र राईको जमिनमा जान कुनै अवरोध नभएको खड्काको भनाइ छ ।

इटहरी १९ नम्बर वडाका अध्यक्ष श्रीनारायण चौधरीले राई र ६ परिवार बीच जमिनको विवाद रहेको र विवाद मिलाउन धेरै प्रयास गरे पनि सम्भव नभएपछि अदालतमा यो मुद्दा पुगेको बताए ।

‘अब अदालतको प्रक्रियाबाट के हुन्छ त्यही हामी मान्न तयार छौँ,’ चौधरीले भने ।