इटहरीः होटलमा बन्धक बनाएर यौन कार्यमा लगाएको अवस्थामा १४ वर्षीया बालिकालाई प्रहरीले इटहरीबाट उद्दार गरेको छ । इटहरी–६ स्थित दियालो होटलको १०१ नम्बरको कोठाबाट बालिकालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार साँझ उद्दार गरेको हो ।

बालिकालाई बन्धक बनाउने १ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरमा काम लगाइदिन्छु भनी आरती केसी भनिने पवित्रा थापाले परिवारको अनुमतिबिना बालिकालाई इटहरी ल्याएकी थिइन् । तर होटलमा ल्याएर राखेपछि बालिकालाई थापाले यौन कार्यमा संलग्न गराएको प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकालाई जबर्जस्ती गरेको आरोपमा इटहरी–२ बस्ने लक्ष्मण राउत र इटहरी ५ बस्ने प्रदीप कोइरालालाई पक्राउ गरेको छ ।

सबैलाई मानब बेचबिखन तथा ओसारपसारमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थपेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।