विराटनगरः प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँको लागतमा मोरङका प्रमुख राजमार्गमा ५८ ओटा सीसी क्यामेरा जडान गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । शान्ति सुरक्षा मजबुत बनाउन सुरक्षा संयन्त्रलाई प्रविधिमैत्री बनाउने सरकारको योजना रहेको जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले बताए । यसअघि प्रदेश सरकारले जनतालाई सुरक्षाको अनुभूति दिलाउन प्रदेशका १० लाख घरमा प्रहरीको स्टीकर टाँसेको थियो । यसमा नजिकैको प्रहरी कार्यालयको फोन नम्बरसहितको विवरण थियो ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रविधिमैत्री हुँदै जाँदा जनताको सेवामा पुग्ने गुणस्तर बढ्ने बताए ।

मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ । प्रहरीले विराटनगर महानगरपालिकाको सीमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ ओटा, पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढी खोला चोकदेखि भाउन्ने चोकसम्म १३ ओटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ ओटा सीसी क्यामेरा जडान गरेको छ ।

६० किलोमिटर क्षेत्रमा बिछ्याइएको ६ ‘कोर’ तार मध्ये सीसी क्यामेराका लागि २ कोर प्रयोग भएको छ । बाँकी चार कोरमा फेस डिटेक्सन क्यामेरा, राडर गन र ट्राफिक लाइट जडान गर्न सकिने छ । प्रहरीले प्रयोग गरेका क्यामेराको स्टोरेज जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ ।