बिर्तामोेडः झापा प्रहरीले नेकपा विप्लव समूहका दुई जना नेता पक्राउ गरेसँगै सोमबार समूहको गोप्य कार्यालयमा छापा मारेको छ ।

प्रहरीले बिर्तामोड नगरपालिका–४मा रहेको गोप्य कार्यालयबाट महत्वपूर्ण दस्तावेजसँगै हतियारसमेत बरामद गरेको छ ।

प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रविन मिश्र (मनिष) र जिल्ला सदस्य टीका पोखरेललाई आइतबार पक्राउ गरेको थियो । त्यसैका आधारमा विप्लव मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई सोमबार पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । मगर चार महिनादेखि विप्लव झापा नेतृत्वसँगै रहेको प्रहरीले जानकारी दिएको छ ।

कार्यालयबाट दुई ओटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको स्रोतले बताएको छ । प्रहरीले उनीहरूको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । बरामद दस्तावेजले बिर्तामोडका व्यवसायीलाई चन्द माग गरिएको खुलेको प्रहरी स्रोतले जनाएको छ ।

पछिल्लो समय झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् । समूहका झापा अध्यक्ष सुमन सिंहको भने जिल्लामा खासै गतिविधि नदेखिएको स्रोतले जनाएको छ ।