ताप्लेजुङः काबेली बी वान जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत दशैँअगावै केन्द्रीय प्रशारण लाइनमा जोड्ने तयारी भएको छ ।

आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत् केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले बताए । ‘आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन शुरु गरेका छौँ । दशैँअगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ’, निर्देशक न्यौपानेले भने ।

ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सब स्टेशनमा जोडिने छ । नेपाल विद्युत प्राधिकरणद्वारा अमरपुरमा केही दिन अघि मात्रै काबेली करिडोरको सब स्टेशन निर्माणको कार्यसमेत सम्पन्न भएको छ ।

झण्डै रु ५ अर्बको लगानीमा आयोजना सम्पन्न भएको हो । शुरुमा रु ४ अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर रु ५ अर्ब पुगेको बताइएको छ । कुल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् ।

तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण शुरु भएको थियो । अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ ।

ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् ।