इटहरीः नेपाली बजारमा सर्वाधिक रुचाइएको बजाज कम्पनीले उत्पादन गरेका मोटरसाइकलहरूको महाएक्सचेन्ज मेला भोलि अर्थात् आइतबारबाट इटहरीमा शुरु हुने भएको छ ।

बजाज कम्पनीद्वारा उत्पादित मोटरसाइकलको इटहरीस्थित आधिकारिक बिक्रेता अटो सिटीले महाएक्सचेन्ज मेलाको आयोजना गरेको हो । इटहरीको पूर्व लाइनमा रहेको मिलन चोकबाट दक्षिण पश्चिममा रहेको बजाजको शोरुम भएकै स्थानमा महामेलाको आयोजना गरिने शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दशैं, तिहारजस्ता हिन्दूहरूका महान चाडलाई लक्षित गरी महामेलाको आयोजना गरिएको बताइएको छ । युवा वर्गले अत्याधिक रुचाएको बजाजको मोटरसाइकल महाएक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ रहेको अटो सिटी इटहरीका सञ्चालक प्रदीप सन्थलियाले बताए ।

असोज १० गतेसम्म चल्ने सो मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्यभन्दा १५ हजार थप हुने जनाइएको छ । यसका साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड निःशुल्क प्राप्त गरिने छ । त्यति मात्र होइन, मोटरसाइकल खरीदका लागि तत्कालै फाइनान्स तथा बीमाको सुविधा पनि बजाज कम्पनीका मोटरसाइकल प्रयोगकर्तालाई दिइने सन्थलियाले बताए ।

त्यसैगरी, बजाजले ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ भन्ने नारासहित भविष्यवाणी अफर समेत ल्याइएको सञ्चालक सन्थलियाले बताए । बजाज कम्पनीले सेवाग्राहीले मोटरसाइकल किन्नु अगाडि १ लाख रुपैयाँसम्म एड्भान्स क्यास र किनेपछि पनि १ लाख रुपैयाँसम्म क्यास प्राइज जित्न सक्ने व्यवस्था पनि गरेको उनले जानकारी दिए ।