विराटनगरः १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका–७ बाट ४ जना युवक पक्राउ परेका छन् ।
शनिबार राति ग्रामथान–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूले ती युवतीलाई मदिरा सेवन गराएको र अर्धचेत भएपछि पालैपालो सामुहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी–५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाश कुमार थारू छन् ।
राती करीब १ बजे घटनाको बारेमा खबर पाएपछि पुगेको प्रहरीले उतिबेलै सबैलाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् । चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति भएको बताइएको छ । उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।