इटहरीः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेष्टिगेसन टिम (रिट) र इटहरी प्रहरीको संयुक्त टोलीले विप्लव समूहका सुनसरी इन्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।

इटहरी–१७ बालग्रामबाट विप्लव समूहका सुनसरी इन्चार्ज विश्वास भनिने लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्ट पक्राउ परेका हुन् ।

उनीहरूलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीहरूको साथबाट प्रहरीले महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको जनाएको छ ।

पक्राउ परेका बिष्ट र पौडेल दुवै भदौ १९ गते इटहरीस्थित सुषमा गोदावारी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरी स्रोतको दाबी छ ।

उनीहरूको विषयमा अनुसन्धान भइरहेको इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनीहरूले प्रयोग गर्ने को ३९ प १५९८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।