इटहरीः इटहरीमा अन्य होटलभन्दा भिन्न मुस्ताङ हाउस एण्ड थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पर्यटकीय स्थल मुस्ताङको पहिचानलाई तराईमा पनि झल्काउन इटहरीका वेदव्यास खरेल र अर्जुन कार्कीको संयुक्त लगानीमा इटहरीको पश्चिम लाइनमा होटल सञ्चालनमा आएको हो ।

विशेषत मुस्ताङमा निकै रुचाइएको खानाका परिकार सो रेष्टुरेन्टमा उपलब्ध हुने बताइएको छ । रेष्टुरेन्टमा अचार, चटनी, अकबरे खुर्सानी, गुन्द्रुक भटमासको झोल, घिउ, ३ किसिमको तरकारी, दही तथा मही, च्याङ्ग्राको सुकुटी समेत पाइने बताइएको छ ।

सवा करोडको लगानीमा सञ्चालन गरिएको होटलभित्रको डिजाइन प्राचीन काष्ठकलासँग मिल्दो छ । जहाँ ढुङ्गेधारा र पुतली पाखा विशेष रूपमा निर्माण गरिएको छ । अहिले होटलमा आउने ग्राहकले विशेष आकर्षणको रूपमा ढुङ्गेधारा र पुतली पाखालाई लिएका छन् ।

होटलै होटलको शहरमा सञ्चालन गरिएको मुस्ताङ हाउसले अन्य होटलभन्दा फरक अनुभूति र स्वाद दिने सञ्चालक कार्की बताउँछन् । इटहरीमा मुस्ताङको टिपिकल स्वाद दिने उद्देश्यका साथ शुरु भएको होटलले पर्यटन प्रबद्र्धनमा समेत ठूलो टेवा पुग्ने उनको भनाइ छ ।

होटलको अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने र मुस्ताङलाई इटहरीमा जोड्ने आफूहरूको योजना भएको कार्कीले बताए ।असार २३ देखि पूर्ण रूपमा सञ्चालनमा आएको रेष्टुरेन्टमा आउने ग्राहकले यहाँको खानाका परिकार मन पाएको बताइएको छ । एक पटक खाना खाएका ग्राहक दोहोरिने क्रम जारी रहेको कार्की बताउँछन् ।

कार्कीका अनुसार ढिकीमा कुटेको चामल, जाँतोमा दलेको मुस्ताङी दाल, मुस्ताङबाट मगाइएको दाल, मुस्ताङकै टिम्मुर, मुस्ताङकै फापरको पीठो, कोदोको पीठो आदि प्रयोग गरेर थकाली खाना तयार गरिन्छ ।

लाइभ म्युजिकसहित ड्रिङ्क्सको मजा लिनेलाई मुस्ताङ हाउस उत्तम ठाउँ हुने समेत सञ्चालक कार्कीले जानकारी दिए । चाँडै अत्याधुनिक सुविधा सम्पन्न लजको समेत निर्माणको काम भइरहेको कार्कीले बताए ।