काँकरभिट्टाः मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मूल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी व्यवसायीसँग आग्रह गरेका छन् ।
चाडपर्वका बेला खाद्यवस्तुसहित लत्ताकपडा र माछा मासुको माग बढ्ने भएको हुँदा माग बढेसँगै मूल्य बढ्ने भएकाले त्यसो नगर्न उनले अनुरोध गरे । मङ्गलबार नगरपालिका सभाकक्षमा नगरका विभिन्न उद्योगी व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको भेलामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्यवस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए ।
नगर क्षेत्रभित्रका बजार व्यवस्थापन, माछामासुजन्य वस्तुको बिक्री, व्यवस्थापन एवम् उपभोग व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा नगरप्रमुख आचार्यले यदि कुनै व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्य वृद्धि गरे वा बजारमा कृत्रिम अभाव देखाए कानुनबमोजिम कारवाही हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गरे ।
अब स्थानीय सरकार कानुन कार्यान्वयनतर्फ सक्रिय रहेकाले कसैले कानुन उल्लङ्घन गरे सजायको भागीदार हुने उनको भनाइ थियो । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे त्यसको परिणाम नकरात्मक आउने बताइएको छ । उनले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शून्यमा झार्न स्थानीय प्रहरी, प्रशासन, व्यवसायी सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
उनले अब हरेक कुरामा परनिर्भर हुनुभन्दा स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताउँदै नेपाली वस्तुमा नै आत्मनिर्भर हुन समेत नगरवासीलाई आग्रह गरे । उनले कृषक तथा व्यवसायीलाई आफ्नो व्यवसायप्रति कुनै समस्या भए समाधानका लागि नगरपालिका सकरात्मक रहेको बताए । तर जथाभावी मूल्य वृद्घि गरेर उपभोक्ताको ढाड सेक्ने काम कसैले गरे स्थानीय सरकारलाई सह्य नहुने उनको भनाइ थियो ।
चाडपर्व सकिएलगत्तै नगरपालिका क्षेत्रमा जथाभावी रूपमा माछा मासुको बिक्री वितरण रोक्ने बताउँदै नगरप्रमुख आचार्यले आफ्ना पसल व्यवस्थित, सफासुग्घर, जाली लगाएको हुनुपर्ने बधशाला समेत व्यवस्थित हुनुपर्नेमा जोड दिए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर कारोबारीले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्ने हुँदा यसलाई निरुत्साहित पार्न स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पारेको जनाइन् ।
चाडपर्वका बखत खरीदकर्ताको भीडभाड निकै ठूलो हुने भएकाले कारोबारीले हरेक वस्तुमा आफूखुशी मूल्य बढाउने परम्पराको अन्त्य गर्न पनि यस्ता बेलामा अनुगमन बाक्लो हुने गरेको उनको भनाइ थियो ।
‘नेपालीका चाडपर्व नजिकिँदै गर्दा बजारमा लत्ताकपडादेखि खाद्यन्नलगायत प्रायः सबै सामानको माग बढ्छ,’ उपप्रमुख उप्रेतीले भनिन्, ‘बजारमा माग बढ्न थालेपछि व्यवसायीले पनि मनखुशी ती दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्घि गरेसँगै हरेकको भान्सा महङ्गो हुने गर्दछ । उपभोक्ता समेत यस्तोे अवस्थामा खुलेर बोल्न सक्दैनन् । अहिले जिल्लाका हरेक पालिकाहरूले बजार अनुगमनलाई तीव्र पारिरहेका छन् ।’
मेचीनगरका अधिकांश व्यवसायीले आफ्ना व्यावसायिक प्रमाणपत्र, मूल्यसूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यावधिक समेत नगरेको फेला परेको उनको भनाइ छ ।
बजार अनुगमनका क्रममा धेरै व्यवसायीले आफ्ना प्रमाणपत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक स्थानीय सरकारको हैसियतले उनीहरूलाई सम्झाइबुझाइ सबै प्रमाण पत्र अद्यावधिक गर्न निर्देशन दिएको उनले बताए ।
मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीले आफ्ना फर्महरू सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताए । यदि आफ्ना व्यावसायकि सङ्घसंस्थाको व्यवसाय दर्ता गरे अप्ठ्यारो परेका बखत तथा आफ्नो हक, हित र व्यावसायिक सुरक्षामा सहयोग पुग्ने उनको भनाइ थियो ।
कसैले पनि मानव शरीरमा असर पुग्ने कुनै पनि वस्तु बिक्री गर्न नहुने उनल बताइन् । कसैले कानुन उल्लङ्घन गरे कारवाही भोग्नुपर्ने अध्यक्ष तिम्सिनाको भनाइ छ । सङ्घका सचिव रविचन्द्र नेपालले अब प्रत्येक वडाले आफ्ना वडामा रहेका उद्योगी व्यवसायीको लगत राख्नुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले विविध कारणले आफूहरू आफ्ना वस्तुको मूल्य वृद्धि गर्न बााध्य भएको दुखेसो पोखेका थिए । भारतबाट अवैध रूपमा आयात हुने मासु तथा मासुजन्य वस्तुका कारण नेपाली व्यवसायीको व्यवसाय सङ्कटमा परेको, भारतीय कुखुरा तथा मासुसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण आफूहरूले मूल्यवृद्घि गर्नुपरेको धारणा राखेका थिए ।
नेपालमा उत्पादन गरिएका कुखुराको तुलनामा भारतीय कुखुरा सस्तो पर्ने भएकाले उपभोक्ताले समेत त्यस्तै खोज्ने हुँदा नेपाली कुखुरा व्यवसायी मारमा परेको उनीहरूको भनाइ थियो । उद्योग वाणिज्य सङ्घमा पदाधिकारी चयन गर्दा वस्तुगत क्षेत्रबाट नपरेको तथा सार्वजनिक जगामा बसेर व्यवसाय सञ्चालन गरेकै कारण फर्म दर्ता गर्न नसकिएको भनाई सहभागीको थियो ।
सहभागी व्यवसायीले चाडपर्वका बखत अहिलेकै मूल्यलाई स्थिर राख्नेतर्फ सकारात्मक रहेको धारणा राखेका थिए । कार्यक्रममा मासु उत्पादक तथा उपभोक्ता सहकारी सङ्घका अध्यक्ष भगिरथ राई, जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौला, सचिव सुबोध निरौला, नुडल्स उद्योगी निर्मला भण्डारी, मासु व्यवसायी गजेन्द्र निरौला, सन्तोष चापागाईँ, टेकबहादुर देवान, हरिप्रसाद तिम्सिनालगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्का र सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले कानुनले बन्देज गरेका हरेक गतिविधिको नियन्त्रण गर्नु आफ्नो पहिलो कर्तव्य रहेको र त्यसतर्फ प्रहरी प्रशासन सक्रिय भए पनि स्थानीयवासी, नगरपालिका, व्यवसायीको साथ सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रमको सञ्चालन नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले गरेका थिए ।