बेलबारीः मोरङको पथरीशनिश्चरे २ मा पिकअप भ्यान र बस एक आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित जय चोकमा यात्रुवाहक बस र पिकअप ठोक्किएर दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व गइरहेको को १ ख ४२७८ नम्बरको बस र विपरीत दिशातिर गईरहेको पिकअप भ्यान एकआपसमा ठोक्किँदा १३ जना घाइते भएका थिए भने को १६ प ६१४५ नम्बरको स्कुटर क्षतिग्रस्त भ्यान र बसमा ठोक्किँदा थप एक जना घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मी अधिकारीले बताए ।

घाइतेमध्ये पिकअप भ्यानका चालक र सहचालक गम्भीर रहेको अधिकारीले जानकारी दिए । भ्यानका चालक केवल कुमाल तथा सहचालक मनिष दर्जीको अवस्था गम्भीर रहेको अधिकारीले बताए । अधिकारीका अनुसार उनीहरूको उपचार लाइफ लाइन हस्पिटल दमक र विराट नर्सिङ होम विराटनगरमा भइरहेको छ । स्कुटरका चालक करण धिमाल भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।