इटहरीः मोटरसाइकल चोरी गरी भाग्दै गरेका ३ जना भारतीयलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । बुधबार राती इटहरी–६ मुख्य चोकमा को ७ प ९३१७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरी भाग्दै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सो मोटरसाइकल कसको हो भन्ने विषयमा सोधीखोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहारका हरिकिशोर शर्मा, सुजित शर्मा र सन्तोष शर्मा छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले पक्राउ परेकाहरू इटहरी क्षेत्रलाई आधार बनाएर मोटरसाइकल चोरी गर्ने समूह रहेको बताए । मौका हेरी हेन्डिल तोडेर बाइक चोरी गर्ने गरेको उनले बताए ।

यही समूहले इटहरीमा अन्य मोटरसाइकल समेत चोरी गरेको बताइएको छ । पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।