इटहरीः इटहरीको मुख्य चोकमा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २८ गते इटहरी–४ की इन्दिरा राईको २३ हजार नगद मनी ट्रान्सफरभित्रैबाट चोरी भएको थियो ।

टेबलमा पैसा राखी राई फोनमा बोल्ने क्रममा सो नगद चोरी भएको थियो । प्रहरीले चोरीमा संलग्न इटहरी–३ का रमेश कार्कीलाई बिहीबार इटहरीबाट नियन्त्रणमा लिएको हो ।

चोरीपछि उनी फरार थिए । सीसीटीभी फुटेजमार्फत् उनको पहिचान भई खोजी भइरहेको थियो । कार्कीलाई चोरी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इटहरी प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।