ताप्लेजुङः ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सब आयोजना हुने भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गतेसम्म म्याराथन तथा महोत्सव हुने भएको हो ।

म्याराथन तथा महोत्सव तयारीका लागि प्रारम्भिक छलफलसमेत शुरु भएको छ । शुक्रबार बिहान महोत्सवको आयोजनाबारे सदरमुकाम फुङलिङमा सर्वपक्षीय छलफल भएको हो । छलफलमा महोत्सवलाई सम्पन्न गर्नका लागि ५ सय १ सदस्यीय मूल आयोजक समिति, विभिन्न विषयगत उपसमिति र कार्यकारी समिति गठन गर्ने लगायतका विषयमा छलफल तथा सहमति भएको पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका संरक्षक सदस्य रणबहादुर कार्कीले जनाए । उनका अनुसार पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समिति आयोजक रहनेछन् ।

यस्तै, महोत्सवमा आयोजना गरिने कार्यक्रम, आयोजक, विषयगत उपसमिति र कार्यकारी समितिको खाका समेत यी २ संस्थाले तयार गर्ने र १ हप्ताभित्रै सर्वपक्षीय बैठक बसी थप छलफल गरी टुङ्गो लगाउने सहमति भएको छ ।

वि.स. २०६३ सालमा पहिलो पाथीभरा महोत्सव आयोजना भएको थियो । पछिल्लो पटक २०७४ सालमा पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथनको आयोजना भएको थियो । त्यस अघिका विभिन्न वर्षमा समेत पाथीभराको प्रचार–प्रसारका लागि महोत्सब सम्पन्न भएका थिए ।

यसअघिका महोत्सवमा ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौडलगायतका खेलकुद, सांस्कृतिक झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् । साथै विभिन्न स्टल समेत राख्ने गरिएको छ ।

महोत्सबले ताप्लेजुङमा रहेका पाथीभरा, कञ्चनजंघा लगायत पूर्वका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा सघाउ पु¥याउँदै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १० वर्षअघि वार्षिक ५० हजारको हाराहारीमा धार्मिक पर्यटक आउने गरेकोमा अहिले आएर वार्षिक ४ लाख बढी दर्शनार्थी तथा धार्मिक पर्यटक आउने गरेको पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका संरक्षक सदस्य कार्कीले बताए ।

मुलुकका विभिन्न जिल्लाबाट साथै भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । यो वर्षसमेत पाथीभरा मन्दिरमा भक्तजन आउने सिजन शुरु भएकाले दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । विशेषगरी दशैँको समयमा अन्य समयको तुलनामा बढी दर्शनार्थी आउने गर्छन् ।

वर्षेनी पाथीभराको प्रचार–प्रसारका लागि महोत्सवलगायतका कार्यक्रम हुने गरेको र धार्मिक पर्यटकको समेत सङ्ख्या बढ्दै गए पनि पाथीभरा जान सुकेटारदेखि काफ्लेपाटी सम्मको मोटर बाटोको स्तरोन्नति र अन्य आवश्यक पूर्वाधारलगायतका विकासमा प्रगति हुन सकेको छैन । विभिन्न समयमा मोटरबाटोको स्तरोन्नतिका लागि बजेट विनियोजन भए पनि ठेकेदारको लापरवाही, सानो बजेट लगायतका कारण प्रगति हुन नसकेको हो ।