धनकुटाः बढ्दो सवारी जोखिम न्यूनीकरण गर्न धनकुटामा प्रहरीले सुरक्षित यात्राको शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीको आयोजनामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनका यात्रुहरूको सुरक्षित यात्रालाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरण कार्यक्रम आयोजना गरिएको हो ।

‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ भन्ने नाराका साथ धनकुटाको हिलेमा नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वको शुभकामनासहित दुर्घटनाको बारेमा सचेत गराइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, जिप्रका धनकुटाका निमित्त का.प्रमुख प्रनाउ विजयराज पण्डित, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, सवारी चालक, यात्रुलगायतको सहभागितामा कार्यक्रम गरिएको हो ।