बिर्तामोडः झापा प्रहरीले अर्जुनधारा –१ सिस्नेमा एउटा गोठमा जमिनमुनि २० दिन अघिदेखि गाडेर राखेको विस्फोटक पदार्थ फेला पारेको छ ।

आइतवार राती सो विस्फोटक पदार्थ फेला पारिएको प्रहरीको भनाइ छ । २ साता अघि पक्राउ परेका विप्लव समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र ‘मनिष’को समूहले उक्त सामग्री चियाको विषादी भन्दै आफन्तको घरमा लगेर राखेको प्रहरीले जनाएको छ ।

मिश्र पक्राउ परेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई शङ्कास्पद सामग्रीबारे आइतबार दिउँसो जानकारी गराइएको थियो । चियाको विषादी भन्दै राखेको सो सामग्री गाईवस्तुले खान सक्ने भन्दै मिश्रका आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

सो वस्तु विस्फोटक पदार्थ पनि हुन सक्ने भन्दै मिश्रका आफन्तले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली त्यहाँ पुगेको डीएसपी मोहन थापाले जानकारी दिए । टोलीले २५ केजी निओजेल ९० (कडा क्षमताको) नामक विस्फोटक पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालयका दिनेश मैनालीले जानकारी दिए । बरामद गरिएको उक्त विस्फोटक पदार्थलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

विप्लव समूहका सेक्रेटरी मिश्रको समूहले २ बोरा सोही प्रकारका सामग्री त्यो घरमा पु¥याएको बताइएको छ । एक बोरा त्यहीँ राखेर १ बोरा आफूसँगै लिएर गएको घरधनीले जानकारी दिएका छन् । सँगै लिएर गएको १ बोरा विस्फोटक पदार्थले झापाको विभिन्न स्थानमा विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।