इटहरीः नेपाल सरकारको पशुसेवा विभागले उदयपुरको बेलका नगरपालिकालाई सम्मान गरेको छ । नगरपालिकाले पशुपक्षी विकासमा उल्लेखनीय प्रगति गरेको भन्दै विभागले सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय पशुपक्षी दिवसको अवसरमा यही १४ गते दिइएको सम्मानमा मन्त्रालयका सचिव युवकध्वज जिसिले बेलका नगरपालिकाका मेयर दुर्गा कुमारथापालाई विभागको तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए ।

बेलका नगरपालिकाले बोका बाख्रा सङ्कलन केन्द्र बनाएको, ४० वटा पशुपन्छी फारम अनुदानमा स्थापना गरेको, ६ वटा मासु पसल स्थापना गरेको, घाँसको बिउमा ९० प्रतिशत आत्मनिर्भर भएको तथा गाई र भैसिमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको भन्दै सम्मान गरेको हो ।

यस्तैगरि, नगरले पशु स्वास्थ्य शिविर सञ्चालन, आफ्नै श्रोतबाट पशु चिकित्सक व्यवस्थापन र दुईवटा बाख्राका श्रोत केन्द्र स्थापनाको अन्तिम तयारी गरेको पनि सम्मानमा उल्लेख गरिएको छ । विभागको सम्मानमा बेलका नगरपालिकाले आफ्नै ५ बर्से रणनीतिक योजनामा पहिलो प्राथमिकता कृषि र पशुपन्छी राखेको र त्यी क्षेत्रमा हेल्भिटास लगायतका विभिन्न साझेदार संस्थाहरूको सहयोग जुटाएको पनि उल्लेख गरिएको छ ।

सम्मान पाएपछि उत्साहित उदयपुरको कान्छो नगरपालिका बेलकाका मेयर दुर्गाकुमार थापाले सम्मानले हौसला दिएको बताए । उनले भने, ‘आगामी वर्ष राष्ट्रिय स्तरको बाख्राको श्रोत केन्द्र स्थापना गरिनेछ ।’

प्रदेश १ र २ का चार जिल्लासँग जोडिएको बेलका नगरपालिका पश्चिममा सुनसरी, उत्तरमा खोटाङ र भोजपुर तथा दक्षिणमा प्रदेश २ को सप्तरी जिल्ला रहेको छ । पश्चिमतर्फ भने बेलकाको सिमाना चौदन्डी नगरपालिकासँग रहेको छ । नौ वडामा विभाजित बेलका नगरपालिकाको जनसङ्ख्या २०६८ को जनगणना अनुसार ४२ हजार ३ सय ८६ रहेको छ ।