धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा रेक्टर प्रा. डा. गुरु खनाल नियुक्त भएका छन् ।

तत्कालीन उपकुलपति प्रा. डा. राजकुमार रौनियारलाई घुस लिएको रकमसहित अख्तियारले पक्राउ गरेपछि खनाल निमित्त उपकुलपतिमा नियुक्त भएका थिए । निमित्त उपकुलपति मात्रै रहँदा प्रतिष्ठानको दैनिक कार्यमा प्रभाव पर्न थालेपछि सरकारले उपकुलपतिकै अधिकार प्रयोग गर्न मिल्ने गरी खनाललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरिएको बताइएको छ ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको सिफारिशमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खनाललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन् । उनलाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेको पत्र बिहीबार प्रतिष्ठानमा आइसकेको छ ।

निमित्त हुँदा उनलाई तलब, बिजुली, पानी र टेलिफोन तथा दैनिक कार्यसञ्चालनको खर्च गर्ने अधिकार मात्र दिइएको थियो । जसले गर्दा विकास निर्माण, सरुवा, बढुवा, भर्नालगायत महत्वपूर्ण तथा दीर्घकालीन निर्णय गर्न असर पर्दै आएको थियो । प्रतिष्ठानको उन्नति, गुणस्तरीय सेवा वृद्धिमा योगदान दिने कार्यवाहक उपकुलपति खनालले प्रतिबद्धता जनाए ।