उर्लाबारीः आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले बुधबार शान्ति सुरक्षाका बारेमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरी सो जानकारी गराएको हो । मुख्य गरी दशंै, तिहार र छठ पर्वको समयमा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा हुन सक्ने घटनालाई मध्यनजर गर्दै मुख्य चोकमा प्रहरी परिचालन तथा मोबाइल गस्ती र मोटरसाइकल गस्ती गरिने भएको छ ।

उर्लाबारीको मुख्य चोक, स्कुलडाँडा, बरगाछी, हाटखोला, आइतबारे, मङ्गलबारे, दुर्गापुरी तथा मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला, टाँडीलगायतका विभिन्न स्थानहरूमा प्रहरीको गस्ती टोली र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए ।

बैँक तथा वित्तीय संस्थाहरूमा हुने कारोबार सुरक्षित गराई देश तथा विदेशबाट घर फर्कने र विभिन्न गन्तव्यसम्म जाने यात्रुहरू समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक राईले बताए । अन्य कुनै अप्रिय घटना हुन नदिन दुरुस्त र योजनाबद्ध परिचालन, अनुगमन र नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागू गरिएको उनको दाबी छ ।

जुवातास नियन्त्रण, मादक पदार्थ बेचबिखन, निर्बाध रूपमा सवारी आवागमनका लागि २४ सै घण्टा गाडी र मोटरसाइकल परिचालन गरिएको प्रहरीले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले उर्लाबारीमा लागूऔषधको प्रयोग बढेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । चाडपर्वमा शान्ति सुरक्षा कडा बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष गञ्जबहादुर कार्की, वडा नं. ६ का अध्यक्ष चिन्तामणि पौडेल र वडा नं. ८ का अध्यक्ष कुलबहादुर कार्कीले चाडपर्वमा अप्रिय घटना हुन नदिन प्रहरी प्रशासन गम्भीर भएर लाग्नुपर्ने बताए । उनीहरूले चाडपर्वका नाममा हुने जुवा, तासजस्ता गतिविधि नियन्त्रणमा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका उर्लाबारी नगरअध्यक्ष उमाकान्त गौतम, नेकपाका नेता मानबहादुर श्रेष्ठ, काङ्ग्रेसका नेता प्रकाश थापा, जेसीजका उर्लाबारी अध्यक्ष विनोद ओली, राप्रपाका उर्लाबारी अध्यक्ष देवी दाहाल, सङ्घीय लिम्बुवान परिषद्का उर्लाबारी अध्यक्ष वरुण लाबुङ, सङ्घीय समाजवादी फोरमकी राधिका नेपाल, बाझाङ राईलगायतले चाडपर्वलक्षित सुरक्षा कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।