इटहरीः साताको पहिलो दिनको सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको भन्दा आधा बढी घटेको छ ।
आइतबार नेप्से सूचक १०.७९ अङ्कले घटेर १२१८.९८ अङ्कमा आइपुगेको छ । बजार ०.८८ प्रतिशतले ओरालो लागेको हो । कुल १ सय ६६ कम्पनीको १२ लाख ७२ हजार १ सय ८ कित्ता सेयर आइतबार किनबेच भएका थिए । जम्मा ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार झण्डै ८० करोड रुपैयाँको कारोबार भएको थियो ।
सबै सूचकमा रातो
आइतबार कारोबार भएका सबै ११ वटै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै लघुवित्त समूहको सूचक १.६५ प्रतिशतले तल झर्दा सबैभन्दा कम फाइनान्स समूहको सूचक ०.१७ प्रतिशतले मात्रै झरेको छ ।
कारोबारमा एनआइसी एशिया
कारोबार रकममा एनआइसी एशिया बैंकले अग्रता लिएको छ । एनआइसी एशियाको २ करोड ५३ लाख ४८ हजार ६ सय १३ रुपैयाँको सेयर किनबेच भएको थियो । दोस्रो स्थानमा रहेको एनएमबी बैंकको २ करोड ९ लाख २३ हजार १ सय ७ रुपैयाँको कारोबार हुँदा कुमारी बैंकको १ करोड ९० लाख ८९ हजार १ सय ४४ रुपैयाँको सेयर कारोबार भएको थियो । ग्लोबल आइएमइ, सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर, प्रभु बैंक र सिद्धार्थ बैंकको पनि १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
सेयर सङ्ख्यामा कुमारी अघि
आइतबार कुमारी बैंकको सबैभन्दा धेरै ८३ हजार ३ सय ९४ कित्ता सेयर किनबेच भएको छ । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर ६९ हजार ३ सय ९३ कित्ता कारोबार हुँदा एनआइसी एशिया बैंकको ६६ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएको छ । एनएमबी बैंक र प्रभु बैंकको पनि ५० हजार भन्दा धेरै कित्ता सेयर कारोबार भएको छ ।
कारोबार सङ्ख्यामा पनि कुमारी नै अघि
आइतबार कारोबार सङ्ख्याका आधारमा पनि कुमारी बैंक नै अघि देखिएको छ । सो बैंकको १ सय ८४ पटक कारोबार हुँदा एनएमबी बैंकको १ सय ७५ पटक कारोबार भएको थियो । मेघा बैंक र एनआइसी एशिया बैंकको समान १ सय ४५ पटक कारोबार भएको थियो । स्वदेशी लघुवित्तको १ सय ३७, प्रभु बैंकको १ सय १८, सिटिजन बैंकको १ सय १४, बुटवल पावरको १ सय ११ र नेपाल लाइफ इन्स्योरेन्सको १ सय ९ पटक कारोबार भएको थियो । अन्य कुनै पनि कम्पनीको १ सय पटक कारोबार भएन ।
जानकीको १० प्रतिशत मूल्यवृद्धि
बजार घटे पनि जानकी फाइनान्सका लगानीकर्ताले भने १० प्रतिशतका दरले सम्पत्ति कमाएका छन् । जानकीले २२ प्रतिशत स्टक बोनस दिने सूचना आइतबार सार्वजनिक भएपछि सो कम्पनीको सेयर मूल्य ९.६० प्रतिशतले बढेको हो ।
काबेली विकास बैंकको ४.९५ प्रतिशतले मूल्य बढ्दा सूर्याेदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६९ प्रतिशतले बढेको थियो ।
ग्रीनका लगानीकर्ता बढी गुमाउनेमा
आइतबार ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.३५ प्रतिशतले मूल्य घट्दा हिमालयन पावर पर्टनरका लगानीकर्ताले ७.१ प्रतिशतले सम्पत्ति गुमाए । विजय लघुवित्तका लगानीकर्ताले ५.६४ प्रतिशतले गुमाउँदा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.५८ प्रतिशतले गुमाए ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५१ अर्ब कायम भएको छ ।