धरानः धरान–१० मा डेरा गरी बस्ने २३ वर्षीय निरजकुमार राउतको कोठाबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध र हतियार फेला पारी बरामद गर्नुका साथै राउतलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरान र रिजनल इन्भेष्टिगेसन टिम (रिट) को संयुक्त टोलीले उनको डेरा आसपासमा ‘सर्भिलेन्स’ को लागि सादा पोशाकका प्रहरी परिचालन गरी उनलाई पक्रन सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले निगरानी बढाएको पाँचौँ दिन अर्थात् आइतबार राती राउत पक्राउ परेका थिए । उनको कोठाको खानतलासी गर्दा बक्स पलङको भित्र रहेका बक्समा कालो प्लाष्टिकको झोलामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध र हतियार बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार राउतले २१ गतेमात्र सो पेस्तोल र गोली खरीद गरेको बताएका छन् ।

उनी लागूऔषध कारोबारीका ‘पटके’ अपराधी भएको र २ पटक लागूऔषध मुद्दामा पक्राउ परिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका–३ घर भएका राउत धरानको विशालपथस्थित बलबहादुर तामाङको घरमा डेरा गरी बस्दै आएका थिए । उनको कोठाबाट प्रहरीले पेस्तोलको नम्बर र पेस्तोल बनेको देशको नाम केरमेट गरेको अवस्थाको एउटा अटोमेटिक पेस्तोल, एक थान म्याग्जिन, ७.६५ लेखिएको १३ राउण्ड गोली बरामद गरेको छ । यस्तै, डाइलक्स डीसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, खैरो हेरोइन ७ ग्राम र स्पास्मो प्रोक्सिभन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल बरामद भएको बताइएको छ ।

लागूऔषध तौल गर्ने सानो मेसिन १ थान, मोटरसाइकलको भारतीय नम्बर प्लेट १ थान, डायरी १ थान, मोबाइल, ट्याब र नगद ११ हजार ३ सय ३० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।