विराटनगरः ठूलो परिमाणमा लागूऔषध र यसको ओसारपसारमा संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
असोज २३ गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको को १३ प १२७६ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ पशुपति चोक बस्ने २० वर्षीय असिम श्रेष्ठ लागूऔषधसहित पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा पक्राउ गरेको थियो ।
सो लागूऔषध बिक्री गर्ने मेडिकल सञ्चालक मोरङको सुन्दरहरंैचा वडा नं. ४ का २६ वर्षीय नरेश यादवसमेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उता, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ बस्ने २३ वर्षीय नवराज राईको उपचारको क्रममा औषधिमा ठगी गर्ने बिक्रेतासमेत पक्राउ परेका छन् । सवारी दुर्घटनामा परेका राईलाई उपचारको लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । घाइतेको उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनी अग्रिम रू २ लाख लिएको तर औषधिको पैसा तिर्न जाँदा भने मूल्य बढाएको पाइएको प्रहरीले जनाएको छ ।
त्यसरी मूल्य बढाउने विराटनगर – १० स्थित न्युरो हस्पिटल अगाडिको साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई बिलसहित पक्राउ गरी प्रहरीले पत्रकारसामु सार्वजनिक गरेको हो ।