धरानः ५ दिन अघि मोबाइलको विषयमा विवाद हुँदा आफ्नै साथीलाई छुरा प्रहार गरी फरार भएका धरान–५ देउरालीका विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ । घटनालगत्तै उनी फरार रहेका थिए ।

उनलाई मङ्गलबार बिहान धरान–११ स्थित सर्दू खोलाको किनारमा रहेको वनडाँडा जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

असोज २४ गते दिउँसो करिब १ बजे धरान–२ छाताचोकमा मोबाइल फोन सेटको विषयमा विवाद हुँदा सोही ठाउँमा डेरा गरी बस्ने ३० वर्षीय सविन भुजेललाई उनले छुरा प्रहार गरेका थिए । विकासले सबिनको पेट, ढाड, बायाँ काखी मुनि र निधार लगायतका अङ्गमा जथाभावी छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सबिनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।