बेलबारीः अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ । मङ्गलबार बिहान बेलबारी नगरपालिका वडा नम्बर ४ स्थित यलम्बर चोकमा को २ ह ४३२३ र को १ ह ८९४५ नम्बरका २ ओटा अटो (टेम्पो)मा राखी बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा गएको मोबाइल टोलीले घरेलु मदिरा बनाउन प्रयोग गरिने १ हजार किलोग्राम मर्चा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपि राजकुमार खिँउजूले बताए । उनका अनुसार ३ लाख मूल्यबराबरको मर्चा बरामद गरिएको छ । बरामद गरिएको मर्चा आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको उनले बताए ।