इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान ईश्वर खतिवडालाई भदौ महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको घुमुवा प्रहरीको रूपमा कार्यरत उनले सङ्गठित अपराध, चोरी, लागूऔषध, फरार अभियुक्त पक्राउ तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई पुलिस अफ द मन्थ घोषित गरेको हो ।

प्रहरी सङ्गठनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति गर्न खतिवडाले गरेको कार्यको सम्मान गर्दैै उत्कृष्ट प्रहरी घोषित गरिएको बताइएको छ । उनको दरबन्दी भने १ नं. प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीमा रहेको छ ।

खतिवडाको तस्विर जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय इटहरीमा एक महिनासम्म राखिने छ ।