धरानः कार्यालय समयमा मादक पदार्थ सेवन गरी कारवाहीमा परेका धरान–४ स्थित प्रहरी चौकी पत्रङबारीका इञ्चार्ज तथा सई पीताम्बर अधिकारीमाथि महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

अधिकारीलाई २ दिनअघि कार्यालय समयमै मादकपदार्थ सेवन गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले रङ्गेहात पक्राउ गरेका थिए । अधिकारी पक्राउ परेलगत्तै स्थानीयले करणीको आरोपमा उनीमाथि मुद्दा दायर गरेका छन् ।

सोही स्थान बस्ने बोल्न नसक्ने एकल महिलालाई करणी गरेको उनलाई आरोप लागेको छ । स्थानीयले किटानीसहित ठाडो उजुरी दिएपछि बलात्कार गरेको विषयमा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय धरानले शनिबार स्थलगत मुचुल्का पनि उठाएको जनाएको छ ।

ती महिलालाई करीब ५ दिन अघि मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको स्थानीयको आरोप छ । अधिकारीले जहिल्यै पनि मादक पदार्थ सेवन गरी स्थानीयलाई दुःख दिने गरेको उनीहरूको गुनासो छ ।