बेलबारीः सुन्दा पनि अचम्म लाग्छ आप्mनै आमाले छोराको हत्या गरिन् भन्दा । तर मोरङको बुढीगंगा गाउँपालिकामा भने एक आमाले आप्mना २ छोराको हत्या गरी आफूले आत्महत्या गरेकी छिन् ।
मोरङको बुढीगंगा गाउँपालिका–२ अमाहीकी २९ वर्षीया कविता यादवले आफ्ना दुई छोरालाई झुण्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी हुन् ।
छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुण्ड्याएर आमाले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार दुवै छोरालाई डोरीको पासो लगाएर झुण्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको खुलेको हो । प्रहरीका अनुसार पहिले दुवै छोरालाई डोरीले झुण्ड्याएपछि आमा आफू पनि झुण्डिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी घटनास्थलमा पुग्दा बिहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुण्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ । ‘कान्छो छोराको शव आमासँगै एउटै बलोमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला प¥यो,’ उनले भने, ‘जेठो छोरा निशानलाई झुण्ड्याएको डोरी भने छिनेको अवस्थामा पाइयो ।’
डोरी छिनेका कारण बाँचेका जेठा छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । ‘घरैभित्र भेटिएका निशानको भने झुण्ड्याउने क्रममा घाँटीमा लागेको डोरीको डोब छ । आमाले झुण्ड्याएकामध्ये कान्छो छोराको मृत्यु भएछ,’ एसपी केसीले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो ।’
भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि प्रहरीलाई खबर गरिएको वडा सदस्य गाडीलाल सिक्दारले बताए । उनका अनुुसार प्रहरी पुगेर घरको ढोका खोलेपछि कान्छा छोरा र आमाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो भने जेठा छोरा रोइरहेका थिए ।
स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको २ वर्षअघि नै निधन भइसकेको छ । भारतको फारबेसगञ्ज घर भई विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा कवितासँग केही समयदेखि बस्दै आएका थिए ।
बाहिरबाट हेर्दा घाँटीमा डोरीको पासो लागेको बाहेक महिलाको शरीरमा भने कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । आमा र छोराको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । शवको पोष्मार्टमपछि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीको भनाइ छ ।