झापाः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले वर्तमान सरकारको आफ्नो दुई तिहाई मतको दम्भका कारण सङ्घीयता सङ्कटमा परेको बताएका छन् । सोमबार झापाको मेचीनगर–९ स्थित धुलाबारीमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले विश्वेश्वरप्रसाद कोइरालाको १ सय ५ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कम्युनिष्टको ‘स्कुलिङ’बाट आएका पार्टीले सङ्घीयता कहिल्यै पनि नस्वीकार्ने हुनाले अहिलेको यो सरकार जसरी पनि सङ्घीयतालाई असफल बनाउन लागेको उनले आरोप लगाए । कर बढाएर हुन्छ कि, विभिन्न आपराधिक गतिविधिमा लागेकालाई उन्मुक्ति दिएर हुन्छ यो सरकार सङ्घीयता असफल बनाउन लागेको कोइरालाको टिप्पणी थियो ।
सङ्घीयता सफल बनाउने जिम्मा काङ्ग्रेसको काँधमा
नेपालको संविधान र सङ्घीयतालाई सफल रूपमा जनतासम्म पुर्याउने जिम्मा अब नेपाली काङ्गे्रसको काँधमा आएको उनले बताए । देश अहिले अराजकतातर्फ धकेलिएकाले त्यसलाई सही मार्गमा ल्याउने जिम्मा पनि नेपाली काङ्ग्रेसको काँधमा आएको उनको भनाइ थियो ।
पार्टी भित्र गुट उपगुट हुनु कुनै नयाँ र अनौठो कुरा नभएको उनको भनाइ थियो । ‘तर पार्टीभित्र गिरोह प्रवेश गरे भने भित्रभित्रै पार्टी सकिन्छ यसमा सबैजना सचेत हुनुहोस्’, कोइरालाले भने, ‘गुट उपगुट हिजो वीपी, गणेशमान, कृष्णप्रसाद गिरिजाप्रसादको पालामा पनि थियो त्यति हुँदा पनि उहाँहरू सबैमा नेपाली काङ्ग्रेसलाई कसरी मजबुत बनाउने, हरेक जनतालाई नेपाली काङ्गे्रस पार्टी मेरो हो भन्ने अपनत्व कसरी गराउने भन्ने चिन्ता थियो । सबै नेताहरू त्यसैमा लाग्नुहुन्थ्यो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै कोइरालाले धेरै बोल्नेले कहिल्यै पनि केही काम नगर्ने र थोरै बोल्नेले धेरै काम गर्ने बताए । ‘गिरिजाप्रसाद कोइराला थोरै बोल्नुहुन्थ्यो तर ज्यादै ठूला र धेरै काम गर्नुभयो’, कोइरालाले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभालाई ३÷३ घण्टा सम्बोधन गर्छन् तर काम भने केही हुँदैन ।’
नेतृत्वमा कुनै प्रकारको कमजोरी भए त्यसको सही ठाउँमा टिप्पणी गर्न पाउने अधिकार पार्टीका नेता कार्यकर्तामा रहेको बताउँदै नेता कोइरालाले कहिल्यै पनि कमजोरीलाई साथमा लिएर अघि बढ्न नसकिने बताए ।
‘पार्टी नेतृत्वमा गल्ती छ भने त्यसलाई तत्काल सुधारेर अघि बढ्नुपर्छ,’ कोइरालाले भने, ‘कार्यकर्ताका लागि नेतृत्व स्पष्ट हुनुपर्छ गल्ती र कमजोरी ढाकछोप गर्नुहुँदैन । यदि त्यो गरियो भने पार्टीभित्र त्योभन्दा ठूलो घातक केही हुँदैन ।’
पार्टीमा गुटउपगुट चल्दैन
नेपाली काङ्ग्रेस कसैको पेवा नभएको प्रष्ट पार्दै नेता कोइरालाले अब पार्टीभित्र हाम्रा होइन राम्रा मान्छेको आवश्यक परेकाले हाम्रा भन्दा राम्रा मान्छेले स्थान पाउने प्रष्ट पारे । आफ्नो गुटको मान्छे ल्याउने र पार्टीलाई पेवा बनाउन खोज्ने नेता कार्यकर्ताको अब दिनगन्ती शुरु हुने उनले स्पष्ट पारे । पार्टी अब गुटउपगुटले नचल्ने बताउँदै समयमै महाधिवेशन गर्न नेतृत्वलाई उनको आग्रह थियो । नेतृत्व हाँक्न तल्लो स्तरदेखि नै मत जित्नुपर्ने हुनाले त्यो विधान कसरी संशोधन गर्ने भन्ने बारेमा सोच्न समेत उनले आग्रह गरे ।
एमाले र माओवादी एक हुनुमा काङ्ग्रेस कमजोर भएका कारण यसको फाइदा लिएको उनको भनाइ थियो । अब पनि सङ्गठन मजबुत नबनाउने हो भने अझै धेरै ठाउँमा पार्टीले हार बेहोर्नुपर्ने भएकाले सङ्गठनलाई मजबुत पार्न सबै ठीक ठाउँमा उभिनुपर्ने उनले बताए ।
पार्टीका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बीपीको संस्कार र संस्कृतिलाई जीवनशैलीमा ल्याएर हरेक कार्यकर्ता पार्टी बनाउन लाग्नुपर्ने बताए । उनले पार्टीभित्र गुट उपगुट छ भनेर एकअर्कालाई आरोपप्रत्यारोप गर्दै निराश बन्नुभन्दा पनि पार्टीभित्रका गलत संस्कारलाई सुधारेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे । उनले तल्लो स्तरदेखि केन्द्रसम्मका नेता कार्यकर्ता सुध्रिन जरुरी रहेको भन्दै हरेकले आफूलाई सुधारेर बीपीले देखाएको समाजवादतर्फ अघि बढ्न समेत आग्रह गरे ।
काङ्ग्रेसका क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरूले अहिले काङ्ग्रेसमा बस्न पनि नसक्ने र त्याग्न पनि नसक्ने अवस्था भएको बताए । कार्यकर्ताहरूको अगाडि एउटा कुरा बोल्ने अनि कार्यान्वयनमा चुप लाग्ने नेतृत्वका कारण पार्टीका नेता कार्यकर्तामा निराश आएको सहभागी नेता कार्यकर्ताको भनाइ थियो ।
अहिले स्थानीय र प्रदेश सभामा बहुमतका साथ विजयी भएको कम्युनिष्ट र अल्पमतमा परेका नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरूलाई काम गर्न समस्या भएका कारण त्यसतर्फ पार्टीलाई सहयोग गर्न उनीहरूले आग्रह गरे ।