इटहरी ः आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोप लागेका सुनसरीको चतराधाममा रहेका सिद्धबाबा नामले परिचित कृष्णदास गिरीलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले पुर्जी जारी गरेको छ ।
सिआइबीको केन्द्रिय कार्यालय काठमाण्डौंले पिडित भनिएकी महिलाको स्वास्थ्य परिक्षण गरि जिल्ला प्रहरी कार्यालयलाई रिर्पोट सहितको फायल पठाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले ती महिलाको जाहेरी सुक्रवार दर्ता गराएको थियो ।
    जाहेरी दर्तासंगै आवश्यक कागजात सहित पक्राउ आदेशका लागि सरकारी वकिल मार्फत जिल्ला अदालत सुनसरीमा निवेदन दर्ता गराएको थियो । सुक्रबार प्रहरीको निवेदनका आधारमा  जिल्ला अदालत सुनसरीले कृष्णदासलाई पक्राउ गरि अनुसन्धान गर्नका पुर्जी जारी गरि बाटो खोलेको छ ।
    अदालतको आदेशपछि प्रहरीले कृष्णदासलाई आफ्नो निगरानीमा आवश्यक अनुसन्धान थालेको छ । कृष्णदासले ती महिला विरुद्धपनि गालीगलौज गरेको भन्दै महिलाको उजुरी अघिनै जिल्ला प्रहरी सुनसरीमा निवेदन दर्ता गराएका थिए । पिडित भनिएकी महिलाले पनि कृष्णदासलाई पटक पटक मोबाइलमा म्यासेज गरेर अश्लील शब्द प्रयोग गरेको बाहिर आएको छ ।
कृष्णदासका अन्य अनुयायीहरुले कृष्णदासलाई फसाउन ती महिलाले अरुकै डिजाइनमा अनावश्यक आरोप लगाएको दावी गरेका छन् । उनिहरुले ५२ पृष्ठ लामो ती महिलाले पठाएका म्यासेज प्रिन्ट गरेर प्रहरीलाई बुझाएको छ । प्रहरी स्रोतका अनुसार निगरानीमा कृष्णदासमाथि छानविन गर्ने र म्याद थप गरेपछि कृष्णदास प्रकरण सहित उनलाई सार्वजनिक गर्ने बताएको छ ।