इटहरी ः आफ्नै एक अनुयायी महिललाई बलात्कार गरेको आरोपमा सिद्धबाबा भनिने चतराधामका कृष्ण बहादुर गिरी(कृष्णदास) पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीले पक्राउ गर्न पुर्जी जारी गरेको ४ दिनपछि कृष्णदास पक्राउ परेका हुन् । अदालतले पक्राउ गर्न पुर्जी जारी गरेपनि जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई नियन्त्रणमा लिन आनाकानी गरिरहेको थियो । कृष्णदासले आफु विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको र पक्राउका लागि अदालतले समेत पुर्जी जारी गरेको चाल पाएपछि शक्तिकेन्द्रहरुमा फोन गरेर आफुलाई बचाई दिन आग्रह गरेका थिए । उनका भक्त भएका केही राजनितिकदलका उच्च तहका नेता, इटहरी र विराटनगरका ठूला व्यवसायीहरु समेत उनलाई बचाउमा लागेका थिए । उनिहरुकै सल्लाहमा कृष्णदासलाई गम्भिर विरामी बनाएर विराट नरसिंह होममा भर्ना गरिएको थियो । समान्य प्रेसर बढेकोमा उनलाई सो अस्पतालको प्रसुति वाडको वेड नम्बर ५ मा राखिएको थियो । शनिवार राती केही संचारमाध्यमहरुमा कृष्णदासले आफ्नो गल्ति स्वीकार गरेको अडियो सार्वजनिक भएप्छि प्रहरीलाई पक्राउ गर्न केन्द्रबाटै दवाव आएको थियो । दवाव आएपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी विनोद शर्माको नेतृत्वमा एक टोली अस्पताल पुगेको थियो ।
प्रहरी पक्राउ पुर्जी लिएर अस्पताल आएको चाल पाएपछि अस्पतालका निर्देशक ज्ञानेन्द्रमान सिंह कार्कीकै निर्देशनमा उनलाई आइसियूमा भर्ना गरिएको थियो । कृष्णदासलाई हटहट्याक भयो भन्दै आइसियूमा भर्ना गरिएको थियो । आईसियूमै भर्ना गरेपछि डिएसपि शर्माको टोली अलमलमा परी दिउँसो जिल्ला प्रहरी कार्यालय फर्किएको थियो । सोमबार बिहान ४ बजे अस्पताल पुगेको शर्माको टोलीले कृष्णदासलाई पक्राउ पुर्जी थमाएर एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ । प्रहरी नियन्त्रणमा रहेका उनलाई अहिले बिहान १० बजेपछि जिल्ला अदालत सुनसरी पेश गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज म्याद थप हुनुका साथै जिल्ला अदालतबाट अनुसन्धानका लागि थुन्ने आदेश प्राप्त गर्ने प्रहरीको भनाई छ ।