इटहरी ः आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोपमा आज बिहान अस्पतालबाट पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी(कृष्णदास)लाई अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले कृष्णदासलाई ११ बजेर १५ मिनेट जाँदा जिल्ला अदालत पेश गरेको थियो । उनलाई ह्विलचियरमा राखेर प्रहरीले जिल्ला अदालत इनरुवा सुनसरी उपस्थित गराएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा नेतृत्वको टोलीले विराटनगरको विराट नरसिंह अस्पतालबाट बिहान को १ च ४०७३ नम्बरको एम्बुलेन्सबाट इनरुवा ल्याइएको थियो । जिल्ला न्यायधिश धर्मराज पौडेलको इजालासले अनुसन्धानका लागि ४ दिन कृष्णदासलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश प्रहरीलाई दिइएको छ । ४ दिनभित्र अनुसन्धान सकेर मिशिल अदालत पेश गर्न भनिएको छ । ४ दिनमा अनुसन्धान नसके अदालतले पुन ः म्याद थप गर्ने छ । म्याद थप गर्ने बिषयमा कृष्णदासको स्वास्थ्य अवस्था नाजुग भएकाले केही बेर छलफल समेत भएको थियो । अदालत आउदा कृष्णदास गेरुबस्त्रमा आएका थिए ।