इटहरीःछविलाल गिरीका दुई पत्नी मध्ये कान्छी श्रीमतीबाट कृष्ण गिरीको जन्म भएको थियो । उनका सहोदर भाई एनेकुमार गिरि थिए भने जेठी पट्टीका कृपाध्वोज गिरी हुन् । दुई चेलीहरु पनि छन् । गिरीका ९४ बर्षीय पिता कहिले मोरङको विराटचोकस्थित कान्छा छोरा एनकुमारकोमा त कहिले इटहरीको तरहरास्थित बहिनी विष्णुमायाको घरमा बस्दै आएका छन् । कृष्णको बाल्यकाल सोलुकै जुवुमै बितेको थियो । त्यहीको स्थानीय विद्यालयमा कक्षा सात अध्ययन गर्दा गदै फेल भएपछि उनि वैरागिएर स्कुल नै जान छाडेका थिए ।
०४९ साल तिर घर छाडेर हिडेको ६ बर्षपछि सन्तको भेषमा घर फर्किएका थिए । घर आउनु अघि उनले ६ पेज लामो पत्र समेत लेखेका थिए । आफन्तका अनुसार घर फर्कीदा आफुले भारतका विश्व विद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेको दाबी गरेका थिए । उनले ०६५ साल देखि त विद्यावारिधि नै गरेको दावी गर्दै डाक्टर समेत लेख्न थालि सकेका थिए ।


दोहोरो नागरिकता काण्ड
कृष्णदासले सोलुखुम्बु र सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयबाट उमेर र नाम समेत परिवर्तन गरेर दुईवटा अलग–अलग नेपाली नागरिकताको लिएका छन् । दासले ०६३ सालमा पुरानै नागरिकताबाट सुनसरीको तरहरा (हाल इटहरी) मा जग्गा खरिद गरेका छन् । २०६५ सालमा सुनसरी जिल्ला प्रशासनबाट श्री वैष्णव कृष्णदासको नाममा दोस्रो नागरिकता बनाएका थिए । नयाँ नागरिकता लिइसकेपछि सोही वर्ष कृष्णबहादुर गिरी नामको पुरानो नागरिकताबाट उनले इटहरीमा अढाई कठ्ठा जग्गा खरीद गरेका स्पष्ट प्रमाणले देखाउँछ । नयाँ नागरिकता लिइसकेपछि पनि पुरानो नागरिकताबाट जग्गा खरीद गरेको देखिन्छ । अरु त अरु ०६८ सालमा ‘सिंगापुर लैजान्छु’ भनी दिल्लीमा अलपत्र पारेकाहरुको उजुरीबाट बच्न उनले सोही साल इटहरीमा किनेको अढाई कठ्ठामध्ये १ कठ्ठा जग्गा नारायण गिरीलाई ११ लाख रुपैयाँमामा बिक्री गरेका थिए । सो जग्गा बिक्रीको कारोबार समेत कृष्णबहादुर गिरीकै नामबाट भएको मालपोत कार्यालय सुनसरीको रेकर्डबाट पुष्टि हुन्छ । तर कृष्णदासले ०६५ सालमा श्री वैष्णव कृष्णदासको नाममा नयाँ नागरिकता लिएपछि पुरानो सक्रिय नबनाएको भन्दै प्रशासनको आँखामा छारो हाल्ने काम गरेका छन् । त्यति मात्र होइन कृष्ण गिरी उर्फ कृष्णदासले पुरानो नागरिकतालाई २०७० सालमा समेत प्रयोगमा ल्याएको प्रमाण भेटिएको छ । उनले सो वर्ष भाईहरुको अंश हडप्ने उद्देश्यले कृष्णबहादुर गिरीकै नामबाट अंशको जग्गा आफ्नी बहिनीलाई बिक्री गरेका थिए । पहिलो नागरिकता भने गिरीले सोलुबाट नाम कृष्ण बहादुर गिरीको नाममा लिएका छन् । पहिलो नागरिकताको ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको छ । नागरिकता नम्बर २२२७।५९५ रहेको छ । दोस्रो नागरिकता भने २०६५ साल पुष १७ गते सुनसरीबाट श्री बैष्णब कृष्णदास का नाममा लिइएको छ । नागरिकतामा उनको जन्म स्थान भने जुबू सोलु र, स्थाई बसोबास बराहक्षेत्र १ सुनसरी उल्लेख छ । जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको छ । नागरिकता नम्बर ०६९००४ र १३२८०८ नम्बर छ । दुबै नागरिकतामा जन्म स्थान जुबु सोलु र बुवाको नाम भने छबिलाल गिरी नै लेखिएको छ ।


भाइमारा सिद्धबाबा
अंश मुद्धामा आफ्नै भाइलाई धोका दिएको समाचार तीन बर्ष अघि बाहिरए पछि कृष्ण दासले पत्रकारहरुले ल्यापटप मागेको र आफूले नदिएपछि समाचार लेखेको भन्दै मिडिया संञ्चालकहरुलाई फोन गरेका थिए । तर गिरीका कान्छा भाई ऐनकुमार गिरी भने दाजु कृष्ण दासले आफूलाई अन्याय गरेको भन्दै अहिले पनि न्यायको खोजिमा छन् । कृष्णदासले भाइलाई दिनु पर्ने ५ लाख रुपैयाँको चेक बाउन्स हुँदा पनि प्रहरीले शक्तिको आडमा पक्राउ गरेको थिएन । कृष्णदासले संगोलमा सुनसरीमा रहँदाको जमिन आफुले मासेपछि भाइलाई सो बाफत पैसा दिन्छु भनी २०७१ पुस ११ गते पाउने गरी मेघा बैंकको पाँच लाखको चेक काटेका थिए । मेघा बैंकको खाता नम्बर ००१००५०२०९०१४ र चेक नम्बर २०४३७७७५ चेक भाईलाई थमाइ दिएका थिए । तर चेक लिएर जाँदा सो चेकको खातामा पैसा नभएको र दिइएको चेकको ठेली नै हराएको भनी खातावालाले चेक रद्ध गर्नु भनि बैंकमा निवेदन दिएपछि भाइले आफु आफ्नै दाईबाट ठगिएको पत्तो पाएका थिए । ऐन अहिले मोरंगको बिराटचोकमा खेति किसानी गर्छन । अर्का भाइ भने बैदेशिक रोजगारीमा दुवैमा छन् । पटक पटक कृष्ण दासलाई व्यबहार मिलाउन आग्रह गरेपछि ऐनलाई कृष्ण दासका अनुयायीहरुले ज्यान मार्ने सम्मको धम्की दिएका थिए । प्रहरीले समेत भाइलाई त्यो बेला मानसिक यातना दिएको थियो ।


बैदेसिक रोजगारीको ठगी धन्दा
०६८ सालमा कृष्णदासले आफन्त सहितका १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पुराएका थिए । दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी सिंगापुर ट्रेनिंङको नाममा जान दवाब दिइएको थियो । तर सिंगापुर जान लाखौं खर्च गरी दिल्ली गएकाहरुले आफूहरु वर्किंङ भिसामा मात्र जाने र त्यसैको नाममा पैसा लिएपछि धोकामा नपर्ने बताएपछि कृष्णदासको ठगि धन्दा बाहिर आएको थियो । केही भारतीय दलालसँग मिलेर सोझा युवालाई विदेश पठाउने धन्दामा संलग्न रहेको र सो क्रममा उनले ११ जनालाई अलपत्र पारी पैसा समेत खाइदिएका तथ्य बाहिरिएको थियो ।