इटहरीः जवरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले शक्तिकेन्द्रको आडमा नक्सा पाससमेत नगराई बनाएका भौतिक संरचनाको छानविन हुने या नहुने भन्ने बिषय बाहिर आएको छ । उनले स्थानीयको विरोध हुँदा हुदै शक्तिकेन्द्रको आडमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरास्थित नहर पश्चिम किनारको १३ बिघा जग्गा कब्जामा लिएर भौतिक संरचना निर्माण गरेका छन् । उनले नक्सापास विना सार्वजनिक जग्गा बनाएका सो भवनको राष्ट्रपति विद्यादेबी भण्डारीले गरेकी थिइन् ।
उनले बराह नगरपालिका क्षेत्रभित्र पर्ने सो स्थानमा नक्सा पास नगराई करिब आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन निर्माण गरेका छन् । वातावरण प्रदूषण शुद्धीकरण गर्ने विशेष उद्देश्य राखेर गिरीले चतरामा गत फागुनमा श्रीराम तारकब्रह्म महायज्ञ गरेका थिए । सो महायज्ञ तथा प्रदेश १ मा हरित क्रान्ति अभियान चलाउने घोषणा कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी थिइन् । त्यो बेला प्रदेश सरकारले उनको हरित क्रान्ति अभियानका निम्ति उल्लेख्य आर्थिक सहयोग पनि गरेको थियो ।
त्यतिबेला गिरीले नहर पश्चिम किनारको १३ बिघा जग्गामा आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन निर्माण गरेका थिए । चतरा नहरको जग्गामा बसेका कोसी विस्थापित परिवारलाई पाँच वर्षअघि सरकारले डोजर, स्काभेटर, जेसिबी र बल प्रयोग गरेर हटाएको थियो तर गिरीले भने ‘साधु’ आवरणमा नक्सा पाससमेत नगराई सो भवन निर्माण गरिएको थियो । गिरीको समूहले गरेको सो अनधिकृत कामलाई बराह नगरपालिका र प्रहरी प्रशासनले अझै पनि नदेखे जस्तै गरेको छ ।
त्यहाँ आधा दर्जन भव्य पक्की संरचना निर्माण भइसकेका छन् । थप नयाँ भवन निर्माण हुने क्रम जारी छ । श्रीराम तारकब्रहम महायज्ञका नाममा मात्र तीनतीन तले तीनवटा पक्की भवन निर्माण भइसकेका छन् । उक्त स्थान सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ पु¥याउँदै आएको मुलुककै सवैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ योजनाको इन्टेक क्षेत्र हो । त्यहाँ योजनाको ४३ बिघा जमिन छ । त्यही जमिन कैलाशनन्द सरस्वती पीठ र बालसन्त मोहनशरण देवाचार्यले पनि अतिक्रमण गरेर भव्य पक्की भवन निर्माण गरेर सेवापीठ निर्माण गरेका छन् । आफनो जमिन धार्मिक पीठहरूले अतिक्रमण गरेपछि योजनाको मर्मत कार्य प्रभावित हुँदै आएको योजनाले जनाएको छ ।
जगतगुरु श्रीरामानन्दाचार्य पीठ भएको स्थानमा योजनाको मूल नहरमा बग्ने पानीको बालुवा छान्ने युनिट छ । त्यहाँ योजनाले नहरमा पानी छाडेको समयमा बालुवा छान्न दुईवटा डोजर मेसिन चौविसै घण्टा चल्छन । ती मेसिनले छानेको बालुवा फाल्न पीठ भएकै जग्गामा भूमिगत पाइप राखिएको छ । उक्त पाइप विग्रिँदा मर्मत गर्न समस्या हुने गरेको योजनाको भनाई छ ।
गिरीले त्यस क्षेत्रलाई आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका नेतादेखि प्रशासनसम्म लबिङ गरिरहेका पनि थिए । उनले आफ्नोे आश्रम छेउमा सुविधा सम्पन्न अतिथि–गृह पनि बनाएका छन्।
गिरीमाथि एक महिला अनुयायीलाई कात्तिक ४ गते आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ । बालात्कारसम्बन्धी उजुरी परेपछि सुनसरी प्रहरीले सोमबार बिहान गिरीलाई नियन्त्रणमा लिएको थियो । उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होममा राखिएको छ । प्रहरी नियन्त्रणमा रहेका गिरीविरुद्ध अनुसन्धान चलिरहेको छ । अदालतले अनुसन्धानका लागि चार दिने म्याद दिएको छ ।