इटहरीः जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले दिएको ४ दिनको म्याद शुक्रबार (आज) सकिएको छ ।
उनको बयान र अनुसन्धान अझै नसकिएको कारण शुक्रबार (आज) पनि गिरीलाई म्याद थप गरिने सुनसरी प्रहरीले तयारी गरेको छ ।
उनको बयान अस्वस्थ्यका कारण हुन नसकेको प्रहरीले जनाएको छ । गिरी प्रहरी निगरानीमा मोरङको बिराटनगर स्थित बिराट नर्सिङ होममा छन् । ‘अर्ट अट्याक’ भएको र प्रेसर बढेको कारण देखाउदै अदालतले गिरीलाई अस्पतालमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
  ४ दिनको समयमा प्रहरीले आरोप लागेका गिरीको रगत र वृयको मद्धतले ‘डिएनए’ परिक्षणको लागी नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशाला काठमाडौं पठाएका थियो । डिएनएको रिर्पाेट अझै आइनसकेको बताइएको छ । महिलाको भने जाहेरी दिनसाथ स्वास्थ्य परिक्षण गरिएको थियो ।
यस्तै करणी भएको स्थान चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुको प्रहरीले बयान लिने काम गरिरहेको छ । अनुसन्धान टोलीले उनि बस्ने स्थानको भान्से, उनको पिएसओ ‘बडिगार्ड’ र त्यस दिन उनिसगै रहेका अन्य अनुयायीहरुको बयान लिने काम गरिरहेको छ ।
साथै करणीको दाबी गरिएको मिति कार्तिक ४ गते यता र अगाडी गिरी र आरोप लगाउने महिला बिचको ‘कल रिलेसन’ अध्यान भइरहेको बताइएको छ । जसमा फेसबुक च्याट र मोबाइल म्यासेजको आदान प्रदान र कल लोकेशनको पनि अध्यान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
करणी प्रकरणपछि आरोपित गिरीले महिलालाई फोन गरेर माफी मागेको बिषयको ‘अडियो रेकर्ड’ को भ्वाईस म्याचको लागि प्रहरीकै बिधि बिज्ञान प्रयोगशाला पठाइएको छ । त्यसको रिर्पाेट आउन पनि समय लाग्ने जनाइएको छ ।
   प्रहरीले भने पिडित महिलाको उपस्थितिमा घटनास्थलको मुचुल्का र सरजिमिन उठाइसकेको छ ।  अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा र प्रहरी निरीक्षक सुभेष अधिकारी छन् । शुक्रबार अदालतले म्याद थप गरेपछि प्रहरीले आरोपित गिरीको बयान लिने छ । बयानसगै गिरीको सम्पति र तिनपुस्ते विवरण पनि प्रहरीले माग्ने छ ।
सबै अनुसन्धान सकेपछि जवरजस्ती करणी सबम्बन्धिको ‘मिसिल’ सरकारी वकिल कार्यालय हुदै अदालतमा पेश गरिने छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञ बिनोद पोखरेलले सम्मानित अदालतमा दिएको ४ दिनको म्याद थपसगै अनुसन्धान जारी रहेको प्रतिकृया दिए ।


महिलामाथि साईबर क्राईमको मुद्दा
कृष्णदासलाई बलात्कारको आरोप लगाउने महिलाबिरुद्ध साइबर क्राईमको मुद्दा दायर भएको छ । उक्त महिलाबिरुद्ध कृष्णदासले नेपाल प्रहरीको केन्द्रिय साईबर ब्यूरोमा साइबर क्राईम सम्बन्धि मुद्दा दायर गरेका थिए । गिरीले कार्तिक १९ गते सामाजिक संञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै ती महिलाबिरुद्ध उजुरी दिएका थिए ।


गिरीको स्वास्थ्यमा सुधार
करणीको आरोप लागेका कृष्णदास गिरीको स्वास्थ्यमा सुधार देखिएको छ । उनलाई आईसियूबाट (एचडिसियू) वार्डको ९ नं. डिलक्समा सारिएको छ । अझै पनि गिरीलाई अक्सिजन दिएर राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।उनलाई अस्पतालका चिकित्सक बाहेक अरुलाई भेट्न दिइएको छैन ।