धरानः बलात्कारको आरोपमा म्याद थप भई प्रहरीको निगरानीमा रहेका सिद्धबाबा कृष्ण दास गिरीका बलात्कारका घटनाहरु खुलासा हुँदै गएका छन् । धार्मिक आडमा महिलाहरु माथि ठगि गर्दै बराहक्षेत्रकै बेईज्जत गरेको भन्दै समाजबाट बहिष्कार गर्ने जिकिर गरेका छन् ।
कार्तिक १४ गते एक महिलालाई बलात्कार गरेको आरोपमा सुनसरीको बराहक्षेत्र स्थित जगदगुरु श्री रामानन्दाचार्य सेवापिठका पिठाधिस कृष्ण दास जि महाराजलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थप गरि निगरानीमा राखेको छ । उनको स्वास्थ्य खराबीका कारण विराटनगर स्थित बिराट नर्सिङ होममा उपचारमा छन् । बलात्कारको आरोप लागेका कृष्णदास गिरीलाई यस अघि पनि दुई बालिकाहरुलाई बलात्कार गरेको खुलासा भएको छ ।
यस अघि भएका महिला बलात्कारका घटनाहरु समितीले नै लुकाउने गरेको स्थानीय महिला नेतृ सिता पौडेल भण्डारीले बताईन् । अघिल्ला सानातिना गल्तीहरु लुकाएर उनलाई जोगाउन खोजेको भण्डारीको भनाई छ । उनले भनिन्, ‘उहाँ बलात्कारी भन्ने कुरा २ वर्ष अघि पनि सार्वजनिक भको हो, समितीले नै यो कुरा गुपचुप राखेको हो, अघिल्लो घटनाको दोष समितीले पनि लिनुपर्छ ।’ बलात्कारका घटनालाई गुपचुपमै राखेर भारत पुर्याईएको उनको आरोप छ । यो घटना पनि कार्तिकमै थाहा पाए पनि समितीबाट झुपाईने भएकाले केही नबोलेको उनले बताईन् । उनले भनिन्, ‘हामी बोलेर केही हुँदैन्, भनेर चुप लागेर बसेको हो, यो पापको घडा भरिएर बाहिर आउँछ भन्ने लागेको चुप लागेको थिए, उ संग पैसा छ, प्रहरी छ, पावर कसैले केही बोलेर हुँदैन् भनेर नै चुप लागेको हो ।’
उनको विश्वासमा बराहक्षेवासीहरु अन्धभक्त भएरै लागेकाले उनको आपराधिक गतिविधिहरु बाहिर नआएको उनको दाबी छ । धर्मको आडमा बराहक्षेत्रका महिलाहरुलाई ठगि गरेको समेत कृष्णदास गिरीलाई आरोप लागेको छ । आयुर्वेदिक विद्यालय खोल्ने भन्दै उन माथि स्थानीयलाई ठगि गरेको आरोप छ । बराह महिला संजालकी अध्यक्ष देउमाया थापा मगरले जगतगुरु भएर आफ्नो ट्रयाक परिवर्तन गर्दै गए पछि उनी माथिको विश्वास हराउँदै गएको बताईन् । आयुर्वेदिक विद्यालय खोल्ने भनेर लगाईएको पुराणको पैसा पनि जगतगुरुको छाता र बस्ने कुर्सीमा सकेको उनको भनाई छ । जगतगुरु भए पनि आयुर्वेदिक विद्यालय खोल्ने विषयनै हराउँदै गएको उनले बताईन् । उनले भनिन्, ‘उसलाई त्यो विषयमा जानकारीनै रैनछ, हामीलाई भ्रममा पारेर विद्यालय खोल्ने भन्दै पैसा संकलन गर्यो, अहिले केही छैन्, उनले हाम्रो विश्वास माथि घात गरेको छ ।’
धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकाश हुँदै आएको बराहक्षेत्रलाई बदनाम गराएको स्थानीयको गुनासो छ । उनलाई कानुनले उन्मुक्ति दिए पनि बराहक्षेत्रका महिलाहरुले कुनै पनि हालतमा नस्विकार्ने उदघोष गरेका छन् ।
बराहक्षेत्रमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले प्रहरी प्रशासनले उनलाई उन्मुक्ति दिए पनि स्थानीयवासीले अस्वीकार गर्ने बताईन् । उनले भनिन्, ‘हामी कुनै हालतमा पनि स्विकार्दैनौं, चाहे त्यसको लागि मर्नुपरे पनि मरौला, उनलाई कुनै पनि हालतमा कानुनले उन्मुक्ति दिनु हुँदैन् ।’
बराहक्षेत्रको विकाश उन्नती र प्रगतिको यात्रामा केही सकारात्मक परिणामहरु देखा पर्न थालेकोले अहिलेको अवश्थामा बराहक्षेत्रलाई बदनाम गराउने तत्वहरु सलबलाई रहेको सञ्जालको भनाई छ । घटनाको सत्यतथ्यलाई अनुसन्धान गरि कुनै पनि बहानामा उन्मुक्ति दिने प्रयास नगर्न प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् ।
मंसिर १६ गते जिल्ला प्रहरी कार्यलय सुनसरीले पक्राउ गरेको कृष्णदास गिरीलाई ४ दिनको म्याद सकिए पछि गत शुक्रबार ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । गिरीले कार्तिक १४ गते आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।