झापाः सोमबार साँझदेखि बेपत्ता भएका झापाका एक व्यवसायी मङ्गलबार बिहान मृत अवस्थामा फेला परेका छन् । उधारो रकम उठाउन गएका कमल गाउँपालिका–६ मङ्गलबारेका ३८ वर्षीय खेमराज पौडेल मृत अवस्थामा फेला परेका हुन् । उनी दमक बजारमा कपडाको व्यवसाय गर्दै आएका थिए ।

पौडेलको अपहरणपछि हत्या भएको आशङ्का गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले उनको अपहरणपछि हत्या भएको जानकारी दिए । उनका अनुसार प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गौरीगञ्जका सद्दाम हुसेनलाई पक्राउ गरेको छ । पारिवारिक स्रोतका अनुसार सोमबार बेलुका पौडेल दम्पत्तिसहित मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । साँझ करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर पौडेल मोटरसाइकलमा हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । पौडेलले हुसेनसँग ९० हजार रुपैयाँ लिनुपर्ने भएकाले गौरीगञ्ज गएको भनी आफूसँग बताएको श्रीमतीले प्रहरीलाई बताएकी छिन् ।

पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरणमा परेको आशङ्कामा श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएकी थिइन् । पौडेल अपहरणमा परेको सूचना पाएलगत्तै प्रहरीले हुसेनलाई घरबाटै पक्राउ गरेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका हुसेनले हत्या अभियोग अस्वीकार गरेका छन् । उनले मोटरसाइकलमा आफूले नलगेको र पौडेलकी श्रीमतीले आफूलाई चिन्न नसकेको प्रहरीसमक्ष बयान दिएका छन् । हुसेनले पौडेलसँग आफ्नो कारोबार भए पनि पैसा लिन नबोलाएको बताएका छन् ।

घटना प्राप्त हुनासाथ प्रहरीले उनको रातभर खोजतलास गरेको थियो । उनको शव हत्या गरिएको अवस्थामा बिहान फेला पर्यो । झापा प्रहरीका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदशीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मङ्गलबार बिहान भेटिएको हो ।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र ब्याग फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले बताए । शवको पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।