इटहरीःमहिलाहरुलाई आत्मानिर्भर बनाई स्वरोजगारका लागि इटहरीको नेपाल टेलिकम उत्तरमा रहेको कर्मचारी संचयकोषको जग्गामा यतिबेला पन्डालमुनी २ सय जना महिलाहरुले एकै साथ सीपमुलक तालिम लिईरहेका छन् । बिहिबारबाट एकै स्थानमा लेडिज व्याग बनाउने तालिममा फरक फरक स्थानबाट आएका वेरोजगार महिलाहरु सहभागी छन् । १५ दिनसम्म चल्ने तालिम निःशुल्क प्रदान गरिएको नेपाल उद्यमी महिला महासंघ अन्तरगर्तको नेपाल उद्यमी महिला संघ इटहरीकी महासचिव सुमी थापाले बताइन् । उनका अनुसार तालिममा इटहरी उपमहानगरपालिकाका २० वटै वडाका ग्रामिण भेगका गृहणी महिलाहरुको सहभागीता रहेको छ । यसरी निःशुल्क रुपमा २ सय महिलालाई एकै स्थानमा राखेर तालिम दिइएको इटहरीका लागि पहिलो भएको थापाले बताइन् । महासचिव थापाले भनिन्–‘ हामी तालिम मात्र दिदैनौ , तालिम सहभागीले बनाउनु भएका व्यागहरु सधैका लागि खरिदका लागि सम्झौता नि गर्नेछौं । तालिम अवधिमा निर्माण भएका व्यागहरुपनि महासंघले खरिद गर्ने छ ।’ महासंघको केन्द्रिय कार्यालयबाट आएका दुई जना सहजकर्ताहरुले तालिम अवधिभर सहजिकरण गर्ने छन् । घरमै बसेर घरको सबै काम भ्याएर एक छिन एकछिन समय निकालेर व्याग तयार पार्ने थापाले बताइन् । दुई दिनमा एउटा व्याग तयार हुने महासचिव थापाले बताइन् । पटेरबाट निर्माण हुने सो व्यागको माग विदेशतिर उच्च रहेको थापाको भनाई छ ।
नेपालको बजारमा एउटा व्याग १ हजार ७ सय मा र विदेशतिर ४ हजारसम्म बिक्री हुदै आएको थापाले बताइन् । उनका अनुसार यो व्यागकाृ माग चाइना र बेल्जियमबाट उच्च रहेको छ । यी दुई देशको माग अनुसारको उत्पादन पुर्याउन कठिन भईरहेको थापाले बताइन् । खोला, पोखरी, खोल्साहरुमा सहजै पाइने पटेरबाट यो व्याग बन्ने थापाले बताइन् । उनले भनिन् –‘व्यागका लागि चाहिने कच्चा पर्दाथ नि निःशुल्क पाइन्छ । शुन्य लगानीमा गृहणी महिलाहरुले घरमै बसिबसि मासिक ३५ हजार सजिलै कमाउन सक्छन् । कहाँ लगेर बेच्ने भन्ने तनाब पनि छैन् । तालिममा सहभागी २ सय जनाले नै बनाएका सबै व्याग पछिसम्म महासंघले नै खरिद गरिदिन्छ ।’ थापाका अनुसार तालिममा एकल महिला, दलित, जनजाति, गरिबका साथै आर्थिक रुपमा पछाडी पारिएका महिलाहरुको सहभागीता छ । यो तालिमले घरमा बसेर अनावश्यक कुरामा समय खेर फाल्नेहरुले पनि आयआर्जनमा लाग्ने भएकाले आफुहरुको जोडबलमा इटहरीमै १५ दिने निःशुल्क तालिम प्रदान गरिएको थापाले बताइन् । तालिममा सहभागी मध्ये उत्कृष्ठ हुनेहरुलाई आगामी दिनहरुमा विभिन्न संघ संस्थामार्फत गाँउ गाँउ आर्थिक रुपमा कमजोर महिलाहरुलाई निःशुल्क तालिम दिलाउने आफ्नो योजना रहेको नेपाल उद्यमी संघ इटहरीकी महासचिव थापाले बताइन् । यसैबीच आजबाट ९ दिनसम्मका लागि इटहरीमा दोस्रो राष्टिय महिला उद्यमशिल मेला संचालन हुदैछ । मेलाको अहिले दिउँसो २ बजे प्रदेश नम्बर १ का वन, उद्योग तथा पर्यटन मन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गर्दैछन् । मेलामा उद्यमशिल महिलाहरुले उत्पादन गरेका बिभिन्न समानहरुको प्रर्दशनी हुने छ । मेलामा करिब १ सयवटा स्टल रहने छन् ।