इटहरीःएक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले आदालतमा पेश गर्ने तयारी गरेको छ । उनि अहिले प्रहरी नियन्त्रण भित्रै बिराटनगरको बिराट नर्सिङ होममा भर्ना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सक्कली मिसिल कागजात र रायसहित मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका सहायक न्यायाधिवक्ता अनिल रेग्मीले आइतबार प्रहरीले गिरीको मुद्धा बुझाएको बताए । उनले सोमबारनै मुद्धा पेश गर्नुको साथै अभियुक्त गिरीलाई अदालतमा पेश गर्ने जानकारी दिए । अभियोग पत्र तयार गरेर सोमबार मुद्धा पेश गर्ने तयारी भएको उनको भनाई छ । गिरीलाई सोमबारनै अदालतमा बयान गराउने प्रहरीको तयारी छ । बयान सकिएपछि गिरीको पक्ष र बिपक्षमा थुनछेक बहस हुनेछ ।
तर स्वास्थ्यको कारण देखाउदै गिरी पक्षले बयान पछि गराउने संम्भावना भने रहन सक्छ । अदालतले सरकारी वकिलको मुद्धा बुझेको र स्वास्थ्य ठिक भएपछि बयानमा ल्याउन आदेश दिन सक्ने छ ।
महिलालाई अझै फकाउदै कृष्णदास
करणीको आरोप लगाउने महिलालाई शनिबार साँझसम्म पनि गिरीका अनुयायीहरुले फोन मार्फत जाहेरी फिर्ता लिन दबाव दिइरहेको पाइएको छ ।
गिरी बस्ने चतरा स्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुले काठमाडौंमा अपाटमेन्ट, गाडी र श्रीमानलाई सरकारी जागिर दिने प्रलोभन देखाएको महिलाको दाबी छ । प्रलोभनसगै प्रहरीका केही उच्च अधिकारीहरुले पनि आफुलाई घुमाउरो तरिकाले धम्काइहेको बताईन् ।
उनले भनिन्, ‘मलाई र मेरो श्रीमानलाई चौतर्फी प्रलोभन र धम्की आइरहेको छ’ । प्रतिष्ठानका पदाधिकारी र केही प्रहरी अधिकारीको नाम लिदै उनले निरन्तर फोन मार्फत तनाव दिइरहेको महिलाको भनाई छ ।
गिरी बस्ने आश्रमका एकजनाले ‘ग्रुप च्याट’ मार्फत आफुलाई फोन गरी ‘गायब’ बनाइदिने समेत धम्की दिएको महिला बताउछन् ।
न्याय नपाए बिष पिउने चेतावनी
गिरीमाथि जवरजस्ती करणीको आरोप लगाउने महिलाले आफुमाथि भएको जघन्य अपराधको दोषीलाई जोगाउन सरकारी मान्छे र प्रहरी आफै लागेको बताउदै आफुले यो मुद्धामा न्याय नपाए बिष पिउने चेतावी दिएकी छिन् ।
‘मलाई राम्ररी थाहा छ, यो मुद्धामा प्रहरी र अदालत दुवैले गिरीलाई जोगाउन लागेको छ । यदि त्यस्तो भए अदालत भित्रै बिष पिउने छु’ उनले भनिन् ।
आफ्नो मुद्धा कमजोर बनाउन गिरी पक्षले करोडौ पैसा खर्च गरिसकेको महिलाको दाबी छ । पिडित भनिएकी महिलाका अनुसार आफुमाथि भएको अन्याय समग्र महिलामाथिको अत्याचार भएको भन्दै महिला संधसंस्थाहरुमा समेत धाउने बताईन । उनले केही महिला संघसंस्थामा निवेदन समेत दिएको बताईन् ।
नार्काे टेष्टको माग
महिलाले गिरीलाई जोगाउन भरपुर प्रयास भइरहेको भन्दै प्रहरी समक्ष ‘नार्काे टेष्ट’ को माग राखेकी छिन् । उनले यो माग प्रहरी प्रमुख आईजिपी सर्बेन्द्र खनाल, मानव अधिकार र महिला संघसंस्थामा राखेकी हुन् । उनले गिरीलाई नार्काे टेष्ट गर्नको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीलाई लिखित निवेदन दिने बताएकी छिन् ।
नार्काे टेष्ट आरोपी तथा अपराधीबाट सत्य कुरा ओकल्न प्रयोग गरिने बिधि हो । जसमा फरेन्सिक एक्सपर्ट, अनुसन्धान अधिकारी, चिकित्सक र मनोवैज्ञानिक बिच यो परिक्षण गरिने गरिन्छ ।
परिक्षणमा आरोपीलाई एउटा दबाइ दिने गरिन्छ । जसले उसको सचेत दिमाग सुस्त बनाउछ । र झुट बोल्नको लागि दिने जवाफ भन्दा वास्तबिक उनको दिमागले दिएको जवाफ टेष्टले बाहिर निकाल्छ । यो परिक्षण बिदेशी प्रहरीले प्रयोगमा ल्याइरहेको हुन्छ । नेपालमा पनि केही घटनाको अनुसन्धान गर्नको लागी प्रहरीले यो टेष्ट अपनाइ सकेको छ ।