सुनसरीःदलित समुदाय माथि हुने हिंसा, अन्याय, अत्याचारका घटनाहरु सार्वजनिक भईरहँदा पनि न्याय पाउन सकिरहेका छैनन् । अझै पनि प्रशासनमा परम्परागत मान्यताकै व्यक्तिहरुको हालि मुहाली हुँदा दलित समुदायहरुले न्याय पाउने अवश्था अझै बन्न सकेको छैन् ।
यसैको उदाहरण बनेकी छिन्, मोरङ रतुवामाई नगरपालिका १ हटिया डाँडाकी दलित महिला रितनीदेवी ऋषिदेव । आफ्नै छिमेकीबाट मरणासन्न हुने गरि कुटिए कि रितनीदेवीले न त न्याय नै पाईन न त औषधी उपचार खर्च नै । प्रहरीले न्याय दिलाउन त परै जाओस् उपचार खर्च पनि दिलाइदिएन ।
घरको छानालाई असर पार्नेगरी बलेसीबाट बोझा बोकेर नहिँड भन्दा छिमेकीबाट मरणासन्न हुने गरि कुटिएकी रितनी देवीको उजुरी प्रहरीले लिन पनि मानेन् औषधी उपचार खर्च समेत दिलाउन प्रहरीले ईन्कार गरेको छ ।
प्रहरीबाट न्याय नपाएपछि कुटपिटबाट सिकिस्त बिरामी भएकी पीडित महिला न्याय माग्दै ओरेक नेपालको विराटनगर स्थित कार्यालयमा आएर शरण लिएर बसिरहेकी छन् । २७ मंसिरदेखि ओरेक नेपालले उनलाई सेफ हाउसमा राखेर उपचारसँगै न्यायका लागि पहल गरिदिइरहेको छ । २१ मंसिर साँझ छिमेकी पकुवा गिरीका २१ बर्षीय छोरा श्रवण गिरीले रतियालाई आफूसँग विवाद गरेको भन्दै हात र लातले मरणासन्न कुटपिट गरेका थिए ।
रितनीका अनुसार छिमेकी पकवा गिरीका छोरा श्रवण गिरी पटक–पटक परालको बिटो बोकेर उनको घरको टिनको छानालाई असर पर्नेगरी बलेँसीबाट हिँड्ने गर्थे । मैले त्यसरी नहिँड्नु दुःखले बनाएको घर भत्कन्छ भनेर अनुरोध गरेँ, तर सानो जाति भएर बढी जान्ने भएकी भन्दै श्रवणले मलाई २१ मंसिर साँझ ७ बजे हाम्रै घरमा आएर मलाई लछारपछार पारेर लात र हातले मरणासन्न कुटपिट गरे, उनले भनिन्, म कुटाईबाट सिकिस्त घाइते भएँ । फोन गरेर नजिकै रहेका सोनापुर प्रहरी चौकीमा गुहार मागेँ । तर रक्षाको लागि कोही पनि प्रहरी आएनन् । केही छिमेकीका सहयोगीहरूले रगतपच्छे भएकी मलाई उपचारका लागि सिँजुवा बजारको निजी क्लिनिकमा र्पुयाए र उपचार गराए । भोलिपल्ट आफूमाथि सांघातिक आक्रमण भएको भन्दै चौकीमा गएँ । तर जाहेरी इप्रकामा मात्र हुन्छ भनेर पठाए । २२ मंसिरमा म इप्रका गएँ । तर इप्रकाले चौकीमै मिलाउनु भनेर पठायो ।
तीन दिन बित्दा पनि उपचार खर्च समेत पाएकी छैनन् । चौकीका ईन्र्चाज सई रोशन चौधरीले घटना समान्य भन्दै वास्तै गरेनन् । वडा अध्यक्षहरूले पनि कुनै साथ दिएनन् । उनले भनिन्, ‘सिकिस्त भएर घरमा औषधि खाँदै घरमा सुतिरहेको थिएँ, ओरेकका मान्छेले मलाई उपचारका लागि विराटनगर ल्याए, जीउ अझै दुख्न छाडेको छैन ।’ उपचारका क्रममा १० हजार रुपैयाँ बढी उपचारमा खर्च भैसकेको छ । निर्धक्क घरमा गएर बस्ने वातावरण पनि छैन । मरणासन्न पिटिएकी दलित महिलालाई प्रहरीले न्याय दिलाउन त परैजाओस् उपचार खर्च पनि दिलाइदिएन ।
ओरेक विराटनगरका प्रमुख दीपक सेन्चेउरीले फिल्डबाट दलित महिलामा अन्याय भएको र उनको अवस्था सिकिस्त भएको जानकारी पाएपछि उद्धार गरेर सेफ हाउसमा ल्याएर राखेको बताए । उनका अनुसार घटनाबारे मोरङ प्रहरी प्रमुख र प्रवक्तालाई जानकारी गराएपछि उनको आइतबार बल्ल कोशी अस्पताल विराटनगरमा प्रहरीले घाउजाँच गराएको छ । तर जाहेरी दर्ता गर्न भने उनले इप्रका सिँजुवा नै पुग्नुपर्ने भएको छ । जिल्ला प्रहरी मोरङले रतियाको जाहेरी बुझेर अनुसन्धान गरी ल्याउन दिलाउन इप्रका सिँजुवालाई निर्देशन गरेको छ ।
इप्रका सिँजुवाका इन्स्पेक्टर मोहन बजगाइँले पीडित महिला २२ मंसिरमा निवेदन लिएर आफूकहाँ आएको तर बुझ्नेक्रममा १७ वर्षको बालकले विवादका क्रममा एक बक्सिङ मात्र हिर्काएको भन्दै जानकारी पाएकोले उपचार खर्च दिएर मिलाइदिनु भनेर प्रहरी चौकीका असई रोशन चौधरीलाई निर्देशन गरेको बताए । उनले भने, ‘गाउँका केही मान्छे र हाम्रा केही साथीहरूले मिलापत्र गराउने बहानामा बदमासी गरेछन् अब प्रस्ट निर्देशन भइसकेको छ कानूनअनुसार जे हुन्छ, त्यहीँ गर्छु ।’
कानूनअनुसार अभद्र व्यवहार र कुटपिटको अपराधमा ७ दिनभित्र घाउजाँच गराएर जाहेरी ३५ दिनभित्र गराइ सक्नुपर्ने प्रावधान छ ।