धरानःगत विहिबार आक्रमणमा परेका नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई आक्रमण गर्नेहरु लाई कानुन अनुसार कडा कारबाहीको माग गर्दै महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाएको छ ।
पत्रकार महासंघ सुनसरीको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा ध्याकर्षण पत्र बुझाएको हो । पत्रकारहरुको टोलीले सोमबार बिहान इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए भने दिउँसो जिल्ला प्रशासन कार्यालय ईनरुवामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीलाई बुझाएका थिए ।
महासंघले ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार काफ्लेमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न माग गरिएको छ भने काफ्लेलाई उपचार खर्चको व्यवस्था गर्न साथै क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि माग गरिएको छ । पछिल्लो समय पत्रकारहरु माथिको आक्रमणको घटनाहरु बढ्दै गएकाले पनि भयरहित ढंगले समाचार संकलन गर्ने वातावरण तयार गर्न पनि आग्रह गरिएको छ ।
इलाका प्रहरी कार्यालयमा ध्यानकर्षण पत्र बुझाए पछि नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष किसोर कुमार कार्कीले भविष्यमा पत्रकारमाथि पुनः यस्तो घटना दोहोरिन नदिन अभियुक्तलाई अधिकतम कानुनी कारबाही हुनुपर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गिरीले पत्रकार माथिको आक्रमण निन्दनीय रहेको बताउँदै कारवाहीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
यता धरानका डिएसपी न्यौपानेले पत्रकार माथि भएको कुटपिटको घटनालाई गम्भीरतापुर्वक लिएर बढीभन्दा बढी सजाय दिलाउन कुटपिट र अंगभंगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको बताए । उनले पत्रकारहरु फिल्डमा जादा असुरक्षित महसुस गरेमा समन्वयन गरे सुरक्षा दिन सकिने बताए ।
उनले उपचार खर्चको विल, मेडिकल रिपोर्ट साथै हराएको गहनाको विल उपलब्ध गराउन आग्रह गर्दै उपचार खर्च तथा क्षतिपूर्ति कानुन वमोजिम दिलाउन अदालतमा पेश गर्नुपर्ने पनि बताए ।
सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले समाचार संकलन गर्न समयमा नआएको भन्दै पत्रकार सन्तोष काफ्लेमाथि कुटपिट गरेका थिए । काफ्लेको नाक भाचिएको छ भने देब्रो आँखाको नशा पनि चुटिएको छ । उनको विराटनगरमा आँखाको शल्यक्रिया पश्चात आराम गरिरहेका छन् । पत्रकार काफ्लेलाई आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध कुटपिट र अंगभंग मुद्दा दर्ता भएको छ ।