इटहरीः ईजाजत विना नै बैकिङ कारोबार गरेको आरोपमा प्रहरीले इटहरीबाट दुई जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । इटहरीको विराटनगर लाईनमा संचालित चर्चित कान्तिपुर नक्षत्र गहना भण्डारका संचालकद्धय इटहरी ८ निवासी सुवाश श्रेष्ठ र इटहरी ९ निवासी दोर्ण श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै इलाका प्रहरी कार्यालयले नीज श्रेष्ठद्धयले ईजाजत विना पासबुक छापेर बिभिन्न व्यक्तिहरुलाई बढी व्याज दिने प्रलोभनमा पारेर २० लाखबढी रकम ठगी गरेको दावी गरिएको छ । ठगिएका व्यक्तिहरुको निवेदनका आधारमा प्रमाण जुटाएर जिल्ला अदालत सुनसरीको आदेशमा उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका माथि आवश्यक छानविन थालिएको प्रहरीले जनाएको छ । सो ठगि घटनामा संलग्न अन्य दुई जना फरार रहेकाले उनिहरुको समेत खोजतलासी भईरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार कान्तिपुर गहना भण्डारले बढी व्याज दिने भन्दै कानून विपरित ईटहरी उमनपा वडा ८ की मधुमाया कटुवालबाट चार लाख छियासी हजार चार सय पैतिस,सोही स्थान बस्ने मनिका कटुवालबाट छ लाख साठ्ठी हजार, वराहक्षेत्र २ चतरा वस्ने रंन्जिता कटुवालबाट सतरी हजार,ईटहरी उमनपा वडा ५ वस्ने तारा आचार्यबाट एक लाख ,वडा नम्बर ८ की कमला श्रेष्ठ प्रधानबाट दुई लाख र मोरङको सुन्दर हरैचा वडा ५ वस्ने लाल चन्द्र वस्नेतबाट पाच लाख उन्तिस हजार छ सय चालिस गरि कुल वीस लाख छयालिस हजार सन्ताउन्न रुपैया लिएर ठगी गरेको पिडितहरुले आफ्नो जाहेरीमा उल्लेख गरेका छन् ।