धरानः वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बीत रजिष्टार्ड तुल बहादुर श्रेष्ठ र आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल सहित चार जना विरुद्ध ५ लाख ५० हजारको बिगो दावी सहित आज (मंगलवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्धा दर्ता गरेको छ ।
भ्रष्ट्राचारको आरोपमा निलम्बनमा श्रेष्ठ, अग्रवालसंगै सिनियर कलर्कद्वय चन्द्र कुमार मगर र रमेश कुमार खतिवडालाई ५ लाख ५० हजार असुलउपर हुन मागदाबी सहित विशेष अदालत काठमाण्डौंमा आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन् । चारै जनाको मिलेमतोमा प्रतिष्ठानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भर्पाई बिना नै चेक जारी गरिएको प्रमाणित हुन आएकोले भ्रष्टाचार ऐन अनुसार मुद्धा दायर गरिएको कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारी रकम हिनामिना गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो पाँच लाख पचास हजार कायम गरी हानिनोक्सानी भएको उक्त रकम निजहरु बाट असुलउपर हुन मागदावी सहित आरोपपत्र दायर गरिएको उल्लेख गरेको छ ।
गत बैशाखमा कुनै कारोबार नै नभएको व्यक्तिको नाममा ५ लाख ५० हजार रुपैया चेकमार्फत भुक्तानी भएको रहस्य बाहिरिएको थियो । पछि प्रतिष्ठानको खातामा पुनः पैसा जम्मा भएपनि अखितयारले अनुसन्धन थालेको थियो । चेक प्रतिष्ठान सँग कारोबारै नभएको पर्वत जिल्लाका जीवन पौडेलको नाममा बनेर साटिएको थियो । चेकमा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र आर्थिक प्रशासन महाशाखाकी मेनेजर रुपा सिंघान्ची अग्रवालको सही छ । तर, दुवैले उक्त सही आफ्नो नभई फर्जी भएको दाबी गरेका थिए । चेक गत बैशाख २३ गते एनआइसि एसियाको मोरङको इन्द्रपुर शाखाबाट साटिएको देखिएको थियो । प्रतिष्ठानको एनआइसि एसियामा रहेको खाताबाट चेक नं ००१६७५०६५० मार्फत पौडेललाई ५ लाख ५० हजार रुपैया भुक्तानी दिइएको थियो ।